सरकारले गरेको कर्मचारी समायोजनले स्थानीय तह अझ अन्यौलतातिर गएको मकवानपुरका स्थानीय तहहरुले विश्लेषण गरेका छन् ।
मकवानपुरका १० वटा स्थानीय तहका प्रमुख, उप्रमुख, अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत सम्मिलित समन्वय बैठकमा कर्मचारी समस्याका बारेमा गुनासो व्यक्त भएको हो ।
जिल्ला समवन्य समितिको नियमित समन्वय बैठकमा अधिकाँश स्थानीय तहका प्रमुख र उपप्रमुखहरुले कर्मचारीको अभाव भएकाले बार्षिक लक्ष्य भेट्न मुश्किल पर्ने धारणा राखेका थिए । ‘कर्मचारी समायोजनको नतिजाले पनि हामीलाई उत्साहित बनाएन ।’, समन्वय बैठकमा स्थानीय तहका प्रमुखहरुले भनेका छन् ।
स्रोतका अनुसार निजामति कर्मचारीहरुले समायोजनका क्रममा केन्द्र सरकार र प्रदेश सरकार रोज्ने अबस्था आएपछि स्थानीय तह रित्तो हुने अबस्था आएकामा केन्द्र सरकारप्रति आलोचना भएको थियो । संघीयताले गाउँ गाउँमा सिंहदरबार आउँछ भनिएपनि अहिलेपनि कर्मचारीको अभावका कारण जनताका आधारभूत काममा लाग्न नसकिएको स्वीकारोक्ति स्थानीय तहका प्रमुख÷उपप्रमुखहरुले गरेका थिए ।
मकवानपुर गढी गाउँपालिकास्थित गढी दरबारमा बसेको बैठकले स्थानीय तह संचालनमा देखिएको समस्या र चुनौति, जिल्लाको समग्र बिकासमा साझा धारणा बनाउने बिषयमा पनि छलफल भएको थियो । बैठकमा समितिले स्थानीय तहहरुमा गरेका अनुगमनको समिक्षा, मौज्दात कोष परिचालन, समन्वय बैठकमा भएका बिगतका निर्णयको समिक्षा गरिएको थियो ।
बैठकले स्थानीय तहमा प्रविधिक पदमा कर्मचारी अभाव भए तत्काल करारमा भर्ना गर्ने निर्णय पनि गरेको छ भने कर्मचारी अभावका कारण परेका अप्ठ्यारो बिषयमा तत्काल संघीय मामिला मन्त्रालयमा जानकारी गराउने, आगामी बैठकमा सूचक पठाएर अनुभव आदान प्रदान गर्ने गरि छलफल गर्ने साथै जिल्लाको दररेटलाई आधार बनाएर स्थानीय दररेट कायम गर्ने तथा बलमैत्री, महिला मैत्री अपाड्डमैत्री कुरालाई समेटेर स्थानीय तहहरुले कार्य गर्ने निर्णय गरेको छ । बैठकले जिल्लाको समग्र विकासकालागि साझा धारण बनाएर जाने कुरामा प्रतिबद्धता जनाएका हुन ।
बैठकको सभाध्यक्षता गर्दै जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले स्थानीय तहका समस्याहरुलाई समाधान गर्न सामूहिक रुपमा अघि बढ्ने र एकापसमा समन्वय गरेर अघि बढ्ने बताएका थिए । बैठकमा ममवानपुरका हेटौँडा उपमहानगरपालिका, थाहानगरपालिका र ८ वटा गाउँपालिकाका प्रमुख÷उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृतहरुको सहभागीता रहेको थियो ।