संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सरकारी चिकित्सकको आन्दोलनले सेवा प्रभावित भएका अस्पताल बल प्रयोग गरेर भएपनि सन्चालनमा ल्याउने बताएका छन् ।
बिहीबार धनगढीमा पत्रकारसँग कुरा गर्दै पण्डितले स्वास्थ्यकर्मीहरुको आन्दोलनको कुनै अर्थ नभएको बताउदै अब प्रदेश लोक सेवा ऐनअन्र्तगत नयाँ भर्ना प्रकृयामा जाने बताए ।
‘डाक्टरका माग संबिधान र संघीयताविरोधी हुन्,’ उनले भने, ‘अहिले डाक्टरले समायोजनको विरोधमा गरिरहेको आन्दोलन संघीयताको पक्षमा देखिदैन ।’
सरकारले पठाएको अस्पतालमा डाक्टरले जानुपर्ने बताउँदै उनले देशभरका अस्पताल बन्द हुने अवस्था आउन नदिने बताए । विदेश बसेर नेपालमा तलव खाने, निजी क्लिनिक र निजी अस्पतालमा मात्रै बढी ध्यान दिने डाक्टरहरुको मागलाई सरकारले सम्बोधन गर्न नसक्ने बताए । डाक्टरलाई बोलाएर सबै प्रश्नको सुनुवाई सरकारले पहिले नै गरिसकेको भन्दै उनले डाक्टका सेवासुविधा नघट्ने दावी गरे । उनले सरकारले खटाएको क्षेत्रमा जानसमेत डाक्टरहरुलाई निर्देशन दिए । निर्देशन नमान्ने डाक्टरलाई सरकारले कानुनअनुसार कारवाही गर्न सुरु गरिसकेको मन्त्री पण्डितको भनाइ छ ।