सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले आन्दोलनमा रहेका सरकारी डाक्टरहरुसँगको वार्ता सहमतिनजिक पुगेको बताएका छन् ।
'उहाँहरुका केही माग थिए । कुरा बुझाउनु वा बुझ्नुअघि हंगामा गर्नु नेपालको चलन हो । समायोजनको विषय हो,' सिंहदरबारस्थित मन्त्रालयको कार्यकक्षमा बिहीबार नियमित पत्रकार सम्मेलनमा उनले भने, 'जहाँ जनता छ त्यहाँ सरकारी सेवा पुर्याउनैपर्छ । उहाँहरुले त्यसखालको बर्दी लगाएर एकैचोटि हड्तालमा जानु राम्रो होइन।'
उनले चिकित्सकहरु सहमतिनिकटमा रहेकाले एक/दुई दिनमै विवाद टुंगिन्छ ।
'बालुवाटारको जग्गा किनबेच भएको छैन, विष्णु पौडेल ठगिएछन्, जग्गा परेछ नक्कली'
यस्तै अर्को प्रशंगमा मन्त्री बास्कोटाले बालुवाटारको जग्गा किनबेच नभएको दाबी गरेका छन् । बालुवाटारको जग्गा किनबेचसम्बन्धी प्रश्नको जवाफमा मन्त्री बास्कोटाले नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेल ठगिएकोसमेत दाबी गरे ।
'प्रधानमन्त्री निवासको जग्गा रोक्का राख्ने निर्णय भइसकेको छ । विष्णु पौडेल त ठगिएका रहेछन् । जग्गा परेछ नक्कली,' उनले भने ।
सार्वजनिक सम्पत्तिको रक्षा गर्नु सरकारको दायित्व भएको उनले बताए । 'सत्य तथ्य बुझेर सरकारले छोड्दैन,' नेकपाका महासचिव पौडेलले वक्तव्य जारी गरेको उल्लेख गर्दै बास्कोटाले भने, 'दोषी देखिएको छ भने कोही उम्कन पाउँदैन। नेकपाको महासचिवले विज्ञप्तिमार्फत स्पष्ट पारिसक्नुभएको छ । उहाँ त फर्जी धन्दामा संलग्न भएको हैन नि । उहाँले थर्ड पार्टीबाट किन्नुभएको हो । उहाँ त ठगीमा पर्नु भएको हो नि ।'