सरकारले ५ विकास क्षेत्रमा रहेका क्षेत्रीय प्रशासन कार्यालय खारेज गरेको छ ।
मन्त्रिपरिषद् बैठकले हेटौंडा, धनकुटा, पोखरा, दिपायल र सुर्खेतमा रहेका क्षेत्रीय प्रशासन कार्यालय खारेज गरेको हो । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सिंहदरबारमा नियमित आयोजना गरिएको पत्रकार सम्मेलनमा भने, 'खारेज भएका पाँचै कार्यालयमा रहेका सबै सम्पत्ति सम्बन्धित प्रदेशको मुख्यमन्त्री कार्यालय मातहत जानेछ ।'
यस्तै उनले प्रदेश सरकारले आफ्नो प्रदेशमा दिने सार्वजनिक बिदा सम्बन्धित प्रदेशका संघीय कार्यालयहरुमा पनि लागू हुने बताए । केही दिनअघि बसेको संघीय मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारले दिने सार्वजनिक बिदा संघीय सरकारअन्तर्गतका कार्यालयहरुमा पनि लागू गर्ने निर्णय गरेको बास्कोटाले जानकारी दिए ।
‘यो एउटा गुनासो थियो, त्यो अब समाप्त भएको छ,’ उनले भने । यसअघि प्रदेश सरकारले घोषणा गरेको सार्वजनिक विदामा संघीय सरकारअन्तर्गतका कार्यालय खुल्ने गरेका थिए । यसमा प्रदेश सरकारहरुले असहमति जनाउँदै आएका थिए ।
तर, प्रदेशले घोषणा गरेको बिदा काठमाडौं उपत्यकामा भने लागू हुने छैन । काठमाडौंमा भने गृह मन्त्रालयले निर्णय गरे मात्र बिदा हुनेछ । यदि प्रदेशले सार्वजनिक बिदा दिएको दिन गृहले बिदा नदिए संघीय सरकारअन्तर्गतका कार्यालयहरु खुल्नेछन् ।