प्रधानमन्त्री केपी ओलीले करको विषयमा नमिलेका र अस्पष्ट रहेका केही विषयलाई समाधान गर्न सरकार तयार रहेको बताएका छन् ।
बिहीबार काठमाडौमा नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा उद्घाटन गर्दे प्रधानमन्त्री ओलीले संघीयता कार्यान्वयनका क्रममा करमा केही समस्या देखिएको भन्दै यो विषय आग्रह पूर्वाग्रहका रुपमा लिन नहुने र सरकारले यसलाई समाधान गर्ने बताएका हुन् ।
नेपालमा लगानीको वातावरण कति बनेको छ भन्ने लगानी सम्मेलनले नै पुष्टि गरेको भन्दै उनले नेपालमा लगानी गर्न विदेशी लगानीकर्ता पनि उत्साहित भएको जिकिर गरे । प्रधानमन्त्री ओलीले सरकार सार्वजनिक निजी साझेदारी (पीपीपी) मा काम गर्न इच्छुक रहेकाले पीपीपीका लागि निजी क्षेत्रभन्दा सरकार बढी उदार रहेको जिकिर गरे । अधिकार, अवसर, सहुलियत, वातावरण सबै दिने पक्षमा सरकार रहेको भन्दै प्रधानमन्त्री ओलीले उद्योगी व्यवसायीलाई एक अर्काको खुट्टा तान्ने काममा नलाग्न पनि आग्रह पनि गरे।
कार्यक्रममा महासंघकी अध्यक्ष भवानी राणाले सरकारले व्यवसाय गर्ने बाताबरण बनाउनुपर्नेमा जोड दिए । त्यस्तै उनले बिकासका लागी सरकारले अघि सारको कार्ययोजनामा नीजि क्षेत्र उत्साहित भएको भन्दै यसमा सदैव सहयोग रहने स्पष्ट पारे । कार्यक्रममा महासंघले महासंघका पूर्व अध्यक्षसमेत रहेका महेशलाल प्रधानलाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरेको छ । त्यस्तै चण्डीराज ढकाललाई पनि विशेष सम्मान गरिएको छ । महासंघले विभिन्न संगठनहरुलाई पनि पुरस्कृत गरेको छ ।