नेपाली कांग्रेस कोषाध्यक्षहरुको तेस्रो राष्ट्रिय भेला बिहीबार पोखरामा सुरु भएको छ । भेला उद्घाटनपछि बोल्दै पार्टी सभापति शेरबहादुर देउवाले केपी ओली नेतृत्व सरकारको १ वर्षमा जनताको पक्षमा एउटा पनि काम नगरेको आरोप लगाएका छन् । हत्याहिंसा, महँगी बढेकाले जनता झन मारमा परेको उनको भनाइ थियो ।
सभापति देउवाले पार्टीभित्र भइरहेको अन्तरघातमुक्त पार्टी बनाएर आफूले विश्राम लिने पनि बताए । उनले पार्टी सुधार्न देशव्यापी जागरण अभियान चलाइने समेत जानकारी दिए । आउँदो वैशाखदेखि नै पार्टीले जागरण अभियान थाल्दै पार्टीभित्रका घात र अन्तरघात विरुद्ध समेत शसक्त कदम चालिने बताए ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले कोषाध्यक्षहरुको सम्मेलनले केन्द्रीय नेताहरुलाई नै सोच्न बाध्य बनाएको बताए । ‘पार्टी गतिशील हुन सकिरहेको छैन् । हामीले कार्यकर्तालाई कार्यक्रम दिन सकिरहेका छैनौं,’ उनले भने ।
महामन्त्री डा. शंशाक कोइरालालाई इंगित गर्दै नेता पौडेलले पार्टीको गतिविधि नियाल्न अनुरोध गरे । ‘महामन्त्रीज्यूले म जे पनि गर्न तयार छु भन्नुभयो । म के अनुरोध गर्छु भने केन्द्रीय कार्यालयमा पार्टीको कामको व्यवस्थापन मिलाइदिनुस् । कहाँ कहाँ अन्याय भएको छ । कार्यकर्तालाई कहाँ अप्ठेरो परेको छ, न्याय दिलाइदिनोस्,’ उनले भने ।
महामन्त्री कोइरालाले पार्टी एक ढिक्का हुन नसकेको बताए । गिरिजाबाबुले आफूलाई पार्टीभित्रको अन्तरविरोधको विषय सुनाउने गरेको प्रसंग उल्लेख गर्दै आफ्नै छायाँदेखि कांग्रेस डराउनुपर्ने स्थिति देखिनु दुखद् भएको भनाइ राखे ।
प्रवक्ता विश्वप्रकाश शर्माले कोषाध्यक्षहरुको पोखरा सम्मेलनबाट ७७ वटै जिल्लामा खाता सञ्चालन गर्न मार्ग प्रशस्त हुने गरी घोषणा पत्र सार्वजनिक गर्न आग्रह गरे ।
बिहीबारदेखि पोखराको सभागृहमा सुरु भएको सम्मेलन शुक्रबार केही प्रतिबद्धता सार्वजनिक गर्दै समापन हुने नेपाली कांग्रेस कोषाध्यक्ष समितिका अध्यक्ष गोविन्द पुडासैनीले जानकारी दिए । कोषाध्यक्षहरुले पाउने अधिकारको उपयोग गर्दै जिल्ला समितिमा आर्थिक सुव्यवस्था कायम राख्न सम्मेलनबाट साझा प्रतिबद्धता जनाइने समेत उनले बताए ।