सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र्रशमशेर राणाले पदभार गरेकै दिन भ्रष्टाचार मुद्दामा शून्य सहनशीलता अपनाउँछु भनेर प्रतिबद्धता जनाएको तीन महिना भयो ।
तर, उनको प्राथमिकतामा भ्रष्टाचार मुद्दा परेको पाइँदैन । १९ पुसमा पद बहाल भएयता उनले भ्रष्टाचार मुद्दाको पेसी तोक्ने गरे पनि स्थगितको सूचीले भने रेकर्ड बनाउँदै आएको छ ।
बिहीबार मात्रै भ्रष्टाचार र गैरकानुनीसम्बन्धी दुई दर्जन मुद्दाको पेसी चढ्यो । तर, अधिकांश कानुन व्यवसायीबाट मुद्दा स्थगित गराइएको छ । मुद्दा स्थगित गर्ने र पेसी चढाउने श्रृंखलाले निरन्तरता पाएको छ ।
विशेष अदालत ऐन, २०५९ को दफा १६ (२) मा विशेष अदालतको निर्णयमाथि परेको पुनरावेदन मुद्दाको प्राथमिकताका साथ मिसिल प्राप्त भएको मितिले तीन महिनाभित्र किनारा गर्नुपर्ने भनिएको छ । तर, सर्वोच्चले मुद्दाको सुनुवाइ त परको कुरा मुद्दाको पेसी चढाउनेमा भने रेकर्ड कायम गरेको छ । मुद्दा स्थगित गर्ने र पेसी चढाउने श्रृंखलाका कारण भ्र्रष्टाचार मुद्दाको चाङ सर्वोच्चमा थुप्र्रिएको छ ।
६ फागुन २०६९ मा दर्ता भएको नेपाली कांग्र्रेसका नेता गोविन्दराज जोशीको भ्रष्टाचार मुद्दा पनि बिहीबार सरकार पक्षबाट स्थगित गरिएको छ । त्योसहित भ्रष्टाचारका दुई दर्जन मुद्दाको पेसीमा कानुन व्यवसायीबाट सुनुवाइ स्थगित गराइएको छ ।
पक्ष र विपक्षी कानुन व्यवसायीका तर्फबाट पटकपटक मुद्दा स्थगित गराउने क्रम चल्दै आएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २८ माघ २०६० मा जोशीमाथि ३ करोड ९३ लाख ६२ हजार ५ सय ७६ रुपैयाँ पदीय दुरुपयोगबाट कमाएको अभियोगसहित १३ वर्ष कैद सजाय र जरिवानाको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । राजधानी दैनिकमा खबर छ।