प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नयाँ वर्ष २०७६ विकास र समृद्धिको जग बसाउने स्मरणीय वर्षका रुपमा रहने बताएका छन् ।
नयाँ वर्ष २०७६ को अवसरमा शुभकामना सन्देश जारी गर्दै राईले विकास र समृद्धिका लागि सबैले आ-आफ्नो क्षेत्रबाट योगदान पुर्याउने अपिलसमेत गरेका छन् । ‘प्रदेशमा भएका स्रोत, साधन र प्रचुर प्राकृतिक सम्पदालाई समुचित प्रयोग गर्दै प्रदेशलाई समृद्ध एवं समुन्नत बनाउने दायित्व हाम्रो काँधमा आएको छ, विकास निर्माण र समृद्धि प्राप्तिको महाअभियानलाई तीव्रता दिन म हार्दिक अपील गर्दछु,’ शुभकामना सन्देशमा भनिएको छ ।
नयाँ वर्षको अवसरमा उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीमा नयाँ उत्साह र उमंगसहित सुख, शान्ति, समृद्धि एंव उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गरेका छन् । देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएसँगै लामो राजनीतिक संक्रमण समाप्त भएको भन्दै उनले आर्थिक सामाजिक रुपान्तरणसहित समृद्धितर्फको यात्रालाई तीब्र गतिमा अगाडि बढाउने र राष्ट्रलाई आत्मनिर्भर बनाउने सबैको साझा जिम्मेवारी र दायित्व रहको मुख्यमन्त्री राईले जनाएका छन् ।