नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले नेपालमा अहिले पानीजहाजभन्दा पनि सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन आवश्यक रहेको बताएका छन् ।
कांग्रेस बनेपा नगरसमितिले गरेको कार्यक्रममा उनले सरकार जनताका अत्यावश्यक काम गर्नेभन्दा ठूला-ठूला सपना बाँड्न लागेको बताए । ‘जनता अहिले सार्वजानिक यातायातमा सुधार खोजिरहेका छन् । तर, प्रधानमन्त्री रेल र पानी जहाजको सपना बाँडिरहनुभएको छ । सरकारले कामभन्दा बढी गफ गर्न लागेको छ, ’ उनले भने, ‘यो राम्रो होइन ।’
पछिल्लो समय प्रधानमन्त्री केपी ओली जनताका आवश्यकता पूरा गर्नेभन्दा पनि आफू शक्तिशाली बन्ने ध्यानमा जुटेको उनले आरोप पनि लगाए ।
वर्तमान सरकार भ्रष्टाचारमा डुबेको बताउँदै यो सरकारबाट सुशासन र विधिको शासनको कल्पना गर्न नसकिने कोइरालाको भनाइ थियो । उनले सरकारका गतिविधि हेर्दा कांग्रेसले आफ्नो शक्ति आर्जनमा ढिलाइ गर्न लागेको आफूलाई महसुस भएको बताए । कोइरालाले आफू कांग्रेसलाई भावनात्मक रुपमा एक बनाउने अभियानमा रहेकोसमेत स्पष्ट पारे ।