कांग्रेसले नयाँ वर्षको आरम्भसँगै पार्टी संगठन सुधारका लागि जागरण अभियान चलाउने भएको छ । कांग्रेस सहमहामन्त्री प्रकाशरण महतले पहिलो चरणको अभियान वैशाख ११ गते सुरु हुने बताए । ‘कार्यक्रम र समय तालिकाको औपचारिक घोषणाको तयारीमा छौं,’ उनले भने, ‘तीन चरणको कार्यक्रम वैशाखबाट मंसिरसम्म चल्नेछ ।’
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जागरण अभियानका लागि सचिवालयले कार्यक्रम तयार पारिरहेको जानकारी दिए । फार्टी केन्द्रीय कार्यालयले गर्ने कार्यक्रमका अतिरित्त केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले प्रशिक्षणका कार्यक्रम लैजाने भएको छ । उपसभापति विमलेन्द्र निधि प्रमुख रहेको प्रतिष्ठानले युवा मतदातालाई पार्टीप्रति आकर्षित गर्ने खालका कार्यक्रम र प्रशिक्षण सञ्चालन गर्ने तयारी गरिरहेको छ । जिल्ला र क्षेत्रीय कार्यसमितिले पनि आआफ्नो अभियान चलाउने छन् ।
प्रवक्ता शर्माका अनुसार कांग्रेसले २०७६ साललाई जागरण अभियानसँग जोड्ने तयारी गरेको छ । अभियान पहिलो चरणमा ७७ जिल्ला, दोस्रो चरणमा ३ सय ३० निर्वाचन क्षेत्र र तेस्रो चरणमा ७ सय ५१ स्थानीय तहमा पुर्याउने लक्ष्य छ । अभियानलाई समन्वय गर्न सबै केन्द्रीय सदस्यलाई जिल्ला खटाउने तयारी कांग्रेस सभापति शेरबहादुर देउवाले गरिरहेका छन् । पार्टीका सबै भ्रातृ संस्था तथा शुभेच्छुक संस्थाहरूलाई फरक जिम्मेवारीका साथ अभियानमा परिचालन गराइनेछ ।
सहमहामन्त्री महतले अभियानको मुख्य लक्ष्य सरकारका गलत कामकारबाहीलाई आम जनतामाझ लैजाने हुने बताए । ‘महासमिति बैठकबाट पारित पार्टीको आर्थिक तथा राजनीतिक प्रस्ताव र पार्टीको विधानलाई समेत कार्यकर्तामाझ बुझाउने प्रयास हुनेछ,’ महतले भने, ‘स्थानीय तहमा पार्टीका समस्या र विवाद सुल्झाउने कामसमेत हुनेछ ।’ कान्तिपुरमा खबर छ।