जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता प्रदान गर्न माग गर्दै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सोमवार भैरहवामा प्रदर्शन गरेको छ। सरकारविरुद्ध चर्काे नारावाजी गर्दै राजपाका कार्यकर्ताहरुले भैरहवाको मुख्य बजार परिक्रमा गरी कोणसभा गरेका थिए।
प्रदर्शनकारीले लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्ने, रेशम चौधरी लगायत आन्दोलनकारीलाई तत्काल रिहा गरी आन्दोलनकारीमाथिको मुद्धा फिर्ता गर्नुपर्ने, जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता प्रदान गर्नुपर्ने, संविधान संशोधनको माग पूरा गर्नुपर्ने लगायतका माग राखेर प्रदर्शन गरिएको राजपा रुपन्देहीका प्रवक्ता मोहम्मद इस्लामले बताए।
कोणसभामा राजपा प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य कल्पना पाण्डेले जन्मसिद्ध नागरिकका सन्तानहरुको नागरिकता नहुँदा उनीहरू विभिन्न अवसरबाट वञ्चित भएकाले यथाशिघ्र नागरिकता वितरण कार्य शुरू गर्नुपर्ने बताइन्। उनले सरकारले मधेशी जनतालाई दोस्रो दर्जाको नागरिकको रूपमा व्यवहार गरिएको आरोप लगाइन्।
राजपा रुपन्देही अध्यक्ष मण्डलका सदस्य महेन्द्र गुप्ताले मधेश विरोधी शक्तिलाई जनताले परास्त गर्ने बताए। कोणसभामा पार्टीका रुपन्देही प्रवक्ता मोहम्मद इस्लाम खान, सिद्धार्थनगर अध्यक्ष अरमान अली लगायतले दुइतिहाई बहुमतको सरकारले जनताको पक्षमा काम गर्न नसकेको भन्दै सरकारको बिरोध गरेका थिए।