गत चैत १७ गते बारा र पर्सामा आएको भीषण हावाहुरीका कारण भएको मानवीय एवं भौतिक सम्पत्तिको क्षतिपछि उत्पन्न परिस्थितिका बिषयमा प्रदेश नम्बर २ स्तरीय छलफलमा सहभागी हुन नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि आज बाराको सिमरा जाँदैछन्।
उपसभापति निधिका साथ बिपद् व्यबस्थापन बिज्ञ डा. हरिदर्शन श्रेष्ठ पनि जाँदैछन्। सिमरामा हुने छलफलमा प्रदेश नम्बर २ बाट कांग्रेसका केन्द्रीय सदस्य, राष्ट्रिय सभा सदस्य, प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, मेयर, उपमेयर, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष एवं जिल्ला पार्टी सभापतिहरु सहभागी हुनेछन्। हावाहुरीपछि तीनै तहको सरकारले राहत तथा पुनस्र्थापनमा गरेको काम तथा कांग्रेसका तर्फबाट गर्नुपर्ने सहयोगका बारेमा छलफल गरिने बताइएको छ।
हावाहुरीको भोलिपल्टै कांग्रेसका तर्फबाट उपसभापति निधिले बारा र पर्साका प्रभाबित क्षेत्रमा पुगेर घाइते तथा मृतकका परिवारजनसंग भेटघाट गरेका थिए। त्यस अबसरमा उपसभापति निधिले प्रदेश नंबर २ र आफ्नो तर्फबाट हावाहुरी प्रभाबितका लागि १० लाख सहयोग गर्ने घोषणा गरेका थिए। लगत्तै कांग्रेस सभापति शेरबहादुर देउवा पनि घटनास्थल पुुगेर पार्टीका तर्फबाट २५ लाख सहयोग गर्ने घोषणा गरेका थिए।
उपसभापति निधिले आफूू र पार्टी सभापतिका तर्फबाट गरिएको सहयोग घोषणाको रकम नेपाली कांग्रेस बाराका सभापतिमार्फत जिल्ला दैबिप्रकोप उद्धार समितिमा हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ। यसबाहेक नेपाली कांग्रेसको डेनमार्क जनसम्पर्क समितिका तर्फबाट प्राप्त रकम पनि उपसभापति निधिले हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ।