प्रमुख निर्वाचन आयुक्तमा सिफारिस दिनेशकुमार थपलिया संसदीय सुनुवाइ समितिबाट अनुमोदित भएका छन् ।
सिंहदरबारमा बुधबार बसेको समिति बैठकले थपलियाको नाम सर्वसम्मत अनुमोदन गरेको हो । साथै समितिले नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ ।
समितिको बैठकमा थपलियाले ३ महिनाभित्रै उपनिर्वाचन गराउने प्रतिवद्धता जनाएका थिए । संघीय संसद, प्रदेशका साथै स्थानीय तहका रिक्त पदहरुमा समेत उपचुनाव हुन सकेको छैन ।
उनले निर्वाचनलाई कम खर्चिलो बनाउन आफूले सक्दो प्रयास गर्ने पनि प्रतिबद्धता व्यक्त गरे । उनले सूचना प्रविधिमैत्री बनाउने र विद्युतीय मतदानको व्यवस्था मिलाउने बताएका थिए ।
थपलियाविरुद्ध समितिमा ६ उजुरी परेका थिए । थपलियाले स्थानीय तहसम्म निर्वाचन आयोगलाई पुर्याउने कार्ययोजना समेत पेस गरेका छन् । समितिको बैठकले राष्ट्रिय समावेशी आयोगको सदस्यमा विष्णुमाया ओझाको नाम पनि सर्वसम्मत अनुमोदन गरेको छ ।