प्रत्यक्ष अवलोकनमार्फत् विकास आयोजनालाई थप तीव्रता दिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निर्माणाधीन ‘एक्सन रूम’ जेठको अन्तिम साताबाट सञ्चालनमा आउने भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको भुईं तल्लामा अहिले अत्याधुनिक प्रविधिसहितको ‘एक्सन रुम’ निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । त्यसको लागत चार करोड ३५ लाख रुपियाँ रहेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले नयाँ व्यवस्थाले काम गर्न सजिलो बनाउने विश्वास व्यक्त गरे । उनका अनुसार राष्ट्रिय गौरवका आयोजना लगायतका विकास आयोजनाको अवलोकन तथा सातवटै प्रदेशका मुख्यमन्त्रीसँग संवाद, छलफल तथा समन्वय गर्ने उद्देश्यसहित प्रधानमन्त्री कार्यालयमा निर्माणाधीन ‘एक्सन रुम’ जेठको अन्तिम साताबाट सञ्चालनमा आउने जानकारी दिए ।
गोरखापत्रमा भउचप्रसाद यादव लेख्छन्- एक्सन रुम’ को सञ्चालनसँगै मुलुकका विकास आयोजनाले थप गति लिनुका साथै कुनै विषयमा प्रधानमन्त्रीसँग छलफल गर्नका लागि मुख्यमन्त्री काठमाडौँ आउनुपर्ने वाध्यताको अन्त्य हुने जानकारी दिइएको छ ।
प्रधानमन्त्री केपी ओलीका सूचना प्रविधि विज्ञ अस्गर अलीले प्रधानमन्त्रीद्वारा गरिने अनुगमन र अवलोकनलाई थप सहज, सरल र प्रभावकारी बनाउने उद्देश्यसहित सञ्चालनमा ल्याउन लागिएको ‘एक्सन रुम’ मार्फत पहिलो चरणमा राष्ट्रिय गौरवका ११ आयोजनामा सीसीक्यमेरा जडान गरी अनुगमन गरिने जानकारी दिए ।
पहिलो चरणमा काठमाडौँ–तराई दु्तमार्ग, मध्य–पहाडी (पुष्पलाल) राजमार्ग, हुलाकी राजमार्ग, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, राष्ट्रपति चुरे तराई मधेस भावर संरक्षण, मेलम्ची खानेपानी आयोजना, माथिल्लो तामाकोसी जलविद्युत् आयोजना, भेरी–बबई डाइभर्सन, सिक्टा सिँचाइ आयोजना, रानी–जमरा सिँचाइ आयोजनामा क्यामेरा जडान गरी प्रधानमन्त्रीबाट त्यसको अवलोकन गरिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
क्यामेरा जडानपछि ‘एक्सन रुम’ बाट सहज किसिमले तिनीहरूको दृश्यावलोकन गर्न सकिने उनले बताए । प्रधानमन्त्री कार्यालयका अनुसार, ‘एक्सन रुम’ मा तीन/तीनवटा टेलिभिजन, टेलिप्रिजेन्ट क्यामेरा र माइक (स्पिकर) जडान गरिनेछ । त्यसैगरी, प्रदेश मुख्यमन्त्रीको कार्यालयमा निर्माण गरिने ‘भिडियो कन्फरेन्स रुम’ मा एक-एक टेलिभिजन, क्यामेरा, माइक र डाटा ट्रान्सफर जडान गरिनेछ ।