प्रधानमन्त्री केपी ओलीले नेपाल अन्तरिक्ष युगमा प्रवेश गरेको बताएका छन् । उनले मुलुकको श्रीवृद्धिका लागि कटिबद्ध वैज्ञानिकहरुको समूहलाई धन्यवाद दिएका छन् ।
बिहीबार ट्वीट गर्दै उनले आफ्नै स्याटलाइट अन्तरिक्षमा पठाइएपछि सफल परीक्षणको शुभकामना व्यक्त गरे । स्याटलाइट निर्माणले मुलुकको प्रतिष्ठा बढेको ओलीको भनाइ छ । सानै आकारको भए पनि नेपाली भूउपग्रह अन्तरिक्षमा पठाइएपछि विश्वभर छरिएका नेपालीले खुसी व्यक्त गर्दै सामाजिक सञ्जालमा आफ्ना धारणा साटिरहेका छन् ।
बिहीबार बिहान साढे २ बजे अमेरिकाको भर्जिनियाबाट नेपालको भूउपग्रह ‘नेपालीस्याट - १’ अन्तरिक्षमा प्रक्षेपण गरिएको छ । यसको तौल झन्डै १ केजी छ । नेपाली भूउपग्रहलाई एन्टारेस नामक वायुयानभित्र रहने सिग्नस कार्गो विमानमा राखेर अन्तरिक्षमा पठाइएको छ ।
नेपाली भूउपग्रह निर्माणमा जापानस्थित नेपाली वैज्ञानिक आभाष मास्केलगायत संलग्न थिए । यसबाट नेपालले आफ्नो भूभागको मौसम, पानी, तापक्रम आदि समेटिएका तस्बिर र सूचना प्राप्त गर्न सक्नेछ ।