सरकारले ९ सचिवको सरुवा तथा पदस्थापन गरेको छ। वैशाख २ गते बसेको मन्त्रिपरिषद बैठकले सचिबहरुको सरुवा तथा पदस्थापन गरेको हो।
प्रदेश नं १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव केदार न्यौपानेलाई काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमा पदस्थापन गरिएको छ भने महानगरका प्रमुख प्रशासकीय अधिकृत यादव कोइरालालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिबमा सरुवा गरिएको सञ्चार तथा सूचना प्रबिधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए।
त्यस्तै केवल भण्डारीलाई कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिवमा र स्वास्थ्य मन्त्रालयका सचिव चन्द्र घिमिरेलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिवमा पदस्थापन गरिएको छ।
कर्णाली प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव रामप्रसाद थपलियालाई स्वास्थ्य मन्त्रालयमा, सामान्य प्रशासन मन्त्रालयका सहसचिव सुरेश अधिकारीलाई प्रदेश नं १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कायम मुकायम प्रमुख सचिवमा पदस्थापन गरिएको छ।
अतिरिक्त समूहका सचिव डा. हरि पौडेल र राष्ट्रिय महिला आयोगका सचिव अनिलकुमार ठाकुरलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सचिवमा पदस्थापन गरिएको छ।
यसैगरी, राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव हरिप्रसाद बस्याललाई विशिष्ट श्रेणीमा बढुवा गरी प्रदेश नं ४ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रमुख सचिवमा पदस्थापना गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए।