प्रधानमन्त्री केपी शर्मा ओलीले दुनियाँको गरिब देश भन्ने पहिचान स्विकार्य नहुने बताएका छन् ।
सरकारको ध्यान शान्ति, सुव्यावस्था र बिकासमा केन्द्रित रहेको भन्दै ओलीले अब मुलुकले बिकासको बाटो समात्ने दावी गरे । त्यसकालागि सबै आधारहरु तयार हुदै गएको उनले बताए । नेपाली सेनाले बृटिस सेनालाई पराजित गरी बिजय प्राप्त गरेको खुशियालीमा आयोजित जितगढी बिजय उत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सबै पेशाकर्मीका समस्यातर्फ सरकारको ध्यान रहेको बताउदै सबैका समस्या संगसंगै समाधानको बाटोमा सरकार अगाडि बढेको बताए ।
प्रधानमन्त्री ओलीले केही समूह देश टुक्राउन उद्धत रहेको भन्दै जनतालाई सचेत हुन आग्रह समेत गरे । “दुनिया एकातिर छ, केही मान्छे अहिले उपद्रो गर्दै छन” उनले भने “पुग्ने कहाँ हो ? गर्ने के हो ? खोजेको के हो ? थाहा छैन तर केही न केही उपद्रो गर्न खोज्दैछन, त्यस्तासंग सचेत हुन आबश्यक छ” ।
प्रधानमन्त्री ओलीले दक्षिणाको लोभमा परेर ज्योतिषहरुले बदमाशी गरेको आरोप लगाए ।”केही समूहहरु जनता भाड्काउन नसकेर ज्योतिषलाई उचाल्न थालेको छन,” उनले भने “दक्षिणाको लोेभमा वदमास काम नगर्न ज्योतिषहरुलाई म आग्रह गर्दछु ।” उनले संबिधान बिरोधी क्रियाकलाप गर्न कसैलाई छुट नहुने भन्दै संबिधान बिपरितको बाटोमा नलाग्न आग्रह गरेका छन् ।
प्रधानमन्त्री ओलीले देश भरका गढी र किल्लाको सरकारले संरक्षणमा गर्ने बताए । जितगढी किल्लाको रक्षा गर्नु देशको रक्षा गर्नु भएको भन्दै उनले यहाँको अतिक्रमित जमिनलाई पुरानै अबस्थामा कसरी ल्याउने सरकारले भन्ने बारे सरकारले काम गर्ने बिश्वास व्यक्त गरे । हाम्रो रक्षाका लागि तिनाउको किनारामा ज्यान दिने सिपाइलाई सलाम ठोक्नुपर्ने भन्दै उनले वीर पुर्खाका सन्तति हौ भन्ने हामी बिर्सन नहुने बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालिन युद्धको नेतृत्व गर्ने कर्णेल उजीर सिंह थापाको पूर्ण कदको शालीकको अनावरण गरेका छन् । साथै ओलीले त्यही नजिकै राखिएको बिशाल राष्टिय झण्डाको झण्डोलोत्तन समेत गरेका छन्।वि.सं १८७२ मा नेपाल र अंग्रेजबीच युद्ध हुँदा कर्णेल थापाको नेतृत्वको नेपाली फौज बुटवलको जीतगढी किल्लाबाट अंग्रेज फौजलाई परास्त गरेको थियो ।
उत्सवका अवसरमा आज बिहान बुटवलमा झाकि सहितको बृहत्त र्याली निकालिएको थियो । बुटवल उपमहानगरपालिको कार्यालय परिसरबाट सुरु भएको रयाली उपमहानगरका बिभिन्न स्थानको परिक्रमा पश्चात जीतगढीमा पुगेर बिशेष समारोहमा परिणत भएको थियो ।