राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का शिर्ष नेताहरुले सरकारले मधेसका माग पूरा गर्न चासो नदेखाएको आरोप लगाएका छन् ।
पार्टी स्थापनाको तेस्रो वार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौमा आयोजित कार्यक्रममा उनीहरुले मधेसका मागप्रति बेवास्ता गर्ने सरकारको कार्यशैली निराशाजनक रहेको टिप्पणी पनि गरे । कार्यक्रममा कार्यक्रममा अध्यक्ष मन्डलका संयोजक शरतसिंह भण्डारीले सरकारले मधेसका माग पूरा गर्न ढिलाई गरेको भन्दै आपत्ती जनाए ।
राजपा नेता राजेन्द्र महतोले कुनैपनि हालतमा पार्टीको महाधिवेशन गर्नुपर्ने बताउँदै छिट्टै पदाधिकारी बैठकबाट महाधिवेशनको टुंगो लाग्ने बताए। राजपाका अर्का नेता अनिल झाले पार्टीभित्र कुनै विवाद नभएको बताउँदै केही पदाधिकारीहरुबीच भएको असमझदारी वार्तामार्फत् समाधान गरिने धारणा व्यक्त गरे ।
२०७४ साल वैशाख ७ गते मधेसकेन्द्रित विभिन्न ६ पार्टी मिलेर बनेको राजपाले आज काठमाडौंमा वार्षिकोत्सवका अवसरमा एक कार्यक्रमको आयोजना गरेको हो ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराई, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका अध्यक्ष पशुपति शम्शेर जबरा, महान्यायाधिवक्ता अग्नि खरेललगायत विभिन्न दलका नेनेताहरु पनि सहभागी भएका थिए ।