गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आज मध्यरातबाट अन्त्य हुँदैछ । मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङको विशेष सम्बोधन लगत्तै सुर्तीजन्य पदार्थ नियन्त्रण एवं नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न विधेयक पारित भएपछि सभामुख नेत्रनाथ अधिकारीले अधिवेशन अन्त्य भएको घोषणा गरे ।
यो अधिवेशनमा प्रदेश सभाले ६ विधेयक पारित गरेको छ । प्रदेशको हिउँदे अधिवेशन पुस २३ बाट सुरु भएको थियो । प्रदेश सभा गठनयताको यो तेस्रो अधिवेशन हो । यसपालिको अधिवेशनमा १६ वटा बैठक भएका छन् । प्रदेश सभा गठन भएयता २४ कानुन बनेका छन् ।
आजकाे बैठकमा सम्बोधन गर्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकारको जग निर्माणको वर्ष आधार मानेको बताए । यस अवधिमा प्रदेशको विकासमा थोरै मात्र इँटा थपिएको सुनाउँदै मुख्यमन्त्री गुरुङले निर्माण गरेका कानुनीगत संरचनाका हकमा आगामी दिनमा सरकारलाई काम गर्ने उत्साह थपिएको बताए ।
हिउँदे अधिवेशनको अन्त्य हुँदै गर्दा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशका नीति तथा कार्यक्रम पूर्ण रुपमा सफल हुन नसक्नुको कारण कर्मचारी समायोजन प्रमुख रहेको दोहो¥याए । ‘बजेट कार्यान्वयनका सम्बन्धमा थुप्रै चुनौतीहरु छन्,’ उनले भने, ‘अन्तर प्रदेश परिषद्को बैठकमा भएको समझदारीमा पुस मसान्त भित्र कर्मचारी सक्ने भनियो । तर आजसम्म पनि कर्मचारी समायोजनको टुंगो लागिसकेको छैन् । त्यसैले सरकारको बजेट कार्यान्वयनमा कर्मचारी अभाव प्रमुख कारण बन्यो ।’
लामो अन्यौलपछि मात्रै साविक जिल्लास्तरका खानेपानी, सिञ्चाई, पशु विकास, कृषि विकास, भौतिक पूर्वाधार लगायतका कार्यालयहरु ढिलो गरी कात्र्तिकमा मात्रै प्रदेशलाई हस्तान्तरण भएकोले कार्यालय स्थापनामै समय लाग्नु गम्भीर चुनौतीको रुपमा लिएको उनले सुनाए ।
नयाँ व्यवस्थामा कसरी काम गर्ने भन्ने मन्त्री र कर्मचारीलाई अनुभव नभएको हुँदा पनि बिलम्ब भएको मुख्यमन्त्री गुरुङले बताए । ‘मन्त्रीहरु अनुभवहीन, कर्मचारीहरु अनुभवहीन अनि यति धेरै कार्यविधि बनाउनुपर्ने काम यति लामो समय लाग्ला, यति धेरै पीडा होला भन्ने अनुमान यो मुख्यमन्त्रीको थिएन्,’ उनले थपे । भौतिक संरचना, स्रोत साधन र मन्त्री एवं कर्मचारीहरुको अनुभव अभावको कारणमा प्रदेशका कार्यक्रम प्रभावित भएको उनले बताए ।