प्रधानमन्त्रीसमेत रहेका सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसका नेताहरु राजतन्त्र फर्काउने सपना बोकेर हिँडेको देख्दा अचम्म लागेको बताएका छन्।
नेपाल कम्युनिस्ट पार्टीको ७० औँ स्थापना दिवसका अवसरका सोमबार राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने ‘राजतन्त्र र हिन्दूधर्म फर्काउने भनेर कांग्रेसका जिम्मेवार नेताहरुका भनाई सुनेर मलाई अचम्म लागेको छ।’ उनले आफूलाई लोकतन्त्रबादी दाबी गर्ने कांग्रेसले प्रतिक्रियावादीसँग घाँटी जोडेको आरोप लगाए।
ओलीले भने, ‘कांग्रेसका धेरै नेताहरु राजतन्त्र फर्काउने सपना बोकर हिँडेका प्रतिक्रियावादीसंग सहकार्य गर्दैछन्, उनीहरु साँँच्चै लोकतन्त्रबादी हुन् भने प्रगतिशील शक्तिसंग पो सहकार्य गर्नुपर्छ।’
उनले भने ‘कोही पनि जन्मिदै ठूलो र राजा नभइ हाल्ने भएकोले अब यो मुलुकमा राजतन्त्र व्यूँताउने सपना नदेख्न म साथीहरुलाई आग्रह गर्दछु। हामीले राणाविरुद्ध, राजाकाविरुद्ध, पञ्चायतका विरुद्ध लड्यौं, असमानताविरुद्ध, थिचोमिचो र शोषणकाविरुद्ध लडेर आज सही ठाउँमा आएका छौं।“
प्रधानमन्त्री ओलीले दुई पार्टीबीचको एकीकरणपछि बनेको संसदको ठूलो दल नेकपाले राष्ट्रियताको रक्षा गर्दै राष्ट्रियताको आन्दोलनलाई उचाइमा पु¥याएको दाबी गरे।
प्रधानमन्त्री ओलीले नेकपाले विभिन्न टुटफुट र अफ्ठ्याराहरु झेल्दै आफ्नै स्पष्ट बहुमतको सरकार बनाउने अवस्थामा आइपुगेको स्मरण गर्दै बताए।