प्रतिनिधिसभाका सदस्य हृददेश त्रिपाठीले वर्तमान सरकारको काम सन्तोषजनक रहेको दाबी गरेका छन् ।
राजधानीमा सोमबार आयोजित कार्यक्रममा उनले भने, ‘सरकारको पहिलो वर्षको मूल्यांकन गर्दा विफल भइसक्यो भन्ने पक्षमा म छैन । राज्यको अंगहरूमा हुनुपर्ने काम भएका छन् ।’
सरकारले अब आफ्ना प्राथमिकता निर्धारण गर्दै अघि बढनुपर्ने सुझाए । उनले भने, ‘अलिक कम बोल्ने र बढी काम गर्नुपर्छ । जनतासामु गरेका वाचा पूरा गर्नुपर्छ । नियमित र कर्मकाण्डी काममा जनताको कुनै चासो छैन ।’
त्रिपाठीले अहिले भएका दलमा आफू सहभागी नहुने जिकिर पनि गरे । उनले भने, ‘जीवनै राजनीतिमा बित्यो । चना र चटपटे बेचेर बस्दैनौं ।’
त्रिपाठीले अर्को प्रशंगमा तत्काल उखु किसानलाई अनुदान प्रदान गर्न सरकारसँग माग गरेका छन् । उनले भने, ‘अहिले उखु किसानहरू ठूलो मारमा छन् । सरकारको अकर्मण्यता र चिनी मालिकहरूको उदण्डताका कारण मारमा परेका हुन् । सरकारले तत्काल ७० प्रतिशत र चिनी मिल सञ्चालकहरूले ३० प्रतिशत अनुदान दिनुपर्छ ।’
सरकारको अकर्मण्यताका कारण उखु किसानहरूले खेतमै उखु आगो लगाउनुपर्ने अवस्था सिर्जना भएको पनि उनको आरोप छ । उनले भने, ‘चिनी मिल सञ्चालकहरूले डेढ महिना ढिलो मिल सञ्चालन गर्दा पनि यो सरकार मूकदर्शक भएर बस्यो, मिल सञ्चालकहरूमाथि कुनै हस्तक्षेप गर्न सकेन । यसैले किसानहरू मारमा परे ।’