नेकपाले पूर्वएमाले र पूर्वमाओवादीको जिल्ला नेतृत्वलाई नै जिम्मेवारी दिँदै जिल्लाको एकता घोषणा गरेको छ । अध्यक्ष र सचिव दुई पक्षले भागबन्डा गरेका छन् ।
पूर्वएमाले पक्षले ४४ जिल्लाको नेतृत्व लिएको छ भने पूर्वमाओवादी पक्षले ३३ जिल्लाको नेतृत्व पाएको कान्तिपुर दैनिकले खबर लेखेको छ ।
एउटाले अध्यक्ष लिएको स्थानमा अर्को पक्षले सचिव पाएको छ । नेकपाको स्थापना दिवसका अवसरमा सोमबार राजधानीको प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रमबाट नेतृत्वको नाम सार्वजनिक गरिएको हो । नेकपाको आइतबार बसेको सचिवालय बैठकले जिल्लाको नेतृत्व चयनसम्बन्धी मापदण्ड तयार गरेको थियो ।
उक्त मापदण्डमा जनप्रतिनिधिका रुपमा रहेकाहरु पनि पार्टीको अध्यक्ष र सचिव बन्न सक्ने सहमति बनाइएको थियो । यसअघि जनप्रतिनिधिका रुपमा निर्वाचित, मन्त्री, सांसदलगायत जिल्लाको नेतृत्वमा नरहने खालको मापदण्ड बनाइएको थियो ।
यसमा लामो समय विवाद भएपछि जिल्लाको पुरानो नेतृत्वलाई नै निरन्तरता दिने सहमति भएको हो ।