जर्मनीमा बस्ने नेपाली भन्नासाथ दिल गुरुङको नाम अगाडि आउँछ। ४० बर्षअघि सन् १९८० मा जर्मनी पुगेका गुरुङ त्यहाँका स्थापित व्यवसायीमा गनिन्छन्। असार पहिलो साता डेनमार्कको होटल रिचमण्डमा आयोजित नेपाली जनसम्पर्क समितिको विश्वस्तरीय भेलामा स्पेसखबरसँग कुरा गर्दै गुरुङले कम्युनिष्ट पार्टीले लगानीको वातावरण बन्न नदिने भएकाले नेपालमा कम्युनिष्ट सरकार रहेसम्म विदेशी लगानी नभित्रिने ठोकुवा गरे।
‘एनआरएनका साथीहरु काठमाडौं विमानस्थल ओर्लनासाथ सरकारी अधिकारीले अनेकखाले दुुःखदिन थालेपछि कसरी उनीहरु लगानी गर्न प्रोत्साहित हुन्छन्’, उनले भने, ‘विदेशी लगानी भित्र्याउने हो भने संसारबाट बिदा लिइसकेको कम्युनिज्मको थोत्रो गाडी फालिहाल्नु पर्छ ।’
एयरपोर्ट ओर्लिनासाथ दुःख
नेपालमा संविधानसभाबाट नयाँ संविधान जारी भइसकेको सन्दर्भमा संसारभरबाट फेल भएको कम्युनिज्म नेपालमा टिक्न नसक्ने गुरुङको विश्वास छ। ‘कम्युनिष्ट मित्रहरु तपाईंहरु देशमै राजनीति गर्न चाहनु हुन्छ, नेपालको भलाईका लागि हो भने संसारभरबाट फेल भइसकेको कम्युनिष्ट सिद्धान्त छाडिदिनस्’, गुरुङले भने, ‘बरु नयाँ ढंगले चलाउनुस्।’
उनको बुझाईमा कम्युनिज्म भनको पुरानो गाडी हो, जुन फाल्ने बेला भइसक्यो। भन्छन् ‘अहिले डिजेल गाडी त बन्द गर्ने भन्ने भएको छ भने तपाईंहरु डिजेलभन्दा पनि पुरानो हो।’
पश्चिम बर्लिनको १९८० देखि ९० सम्मको अनुभवले पनि त्यही भन्छ। कम्युनिष्टमा पनि सोसल डेमोक्रयाट सबैभन्दा बढी सभ्यता भएको देश थियो त्योे। पूर्वी जर्मनी १५० बर्ष पछाडि परेको थियो। त्यहाँ गरीबी र अभाव व्याप्त थियो। त्यसको एउटै कारण थियो– उसले अबलम्बन गरेको कम्युनिज्म नीति। ‘आजको दिनमा उत्तर कोरियाको कम्युनिज्मसमेत कुन दिन ‘रिफर्म’ हुन्छ, चाइना त पूरै ‘रिफर्म’ भइसक्यो,’ उनी भन्छन्।
नेपालबाट कम्युुनिज्म व्यवस्था हटेपछि विदेशबाट नेपालमा प्रशस्त लगानी पनि आउँनेमा उनी विश्वस्त छन्। अन्तर्राष्ट्रिय ठुला व्यापारी र प्रजातान्त्रिक सरकारले कम्युनिष्टलाई बिश्वास नगरेपछि सहायता पनि नआउने गुरुङको दाबी छ।
लगानीमैत्री वातावरण भएमा विदेशीमात्र होइन, एनआरएनले पनि लगानी ल्याउँछन्। गुरुङ भन्छन्‘तर आजको दुर्भाग्य हामी विदेशमा बस्ने नेपालीलाई सरकारले एयरपोर्टमा उत्रिनासाथ दुःख दिन सुरु गर्छ। हामीलाई नै दुःख दिन थालेपछि हामीले कसरी लगानी गर्न सक्छौं? कमसेकम प्रजातान्त्रिक व्यबस्थामा त दुःख दिए पनि लड्न पाइन्थ्यो। अहिले यो कम्युनिज्ममा लड्न पनि पाइँदैन।’
युरोपमा नेपालीको प्रबेश
फ्रि भिसा भएका बेला ४० वर्षअघि सन् १९८० मा जर्मनी पुगेका थिए गुरुङ। उनीभन्दा अगाडि राजा महेन्द्रका पालामा डाक्टर, इन्जिनीयर पढ्न गएका एकाधबाहेक अरु नेपाली थिएनन्। अर्थात् जर्मनीमात्र होइन, सिंगो युरोपमा कति नेपाली छन् भनेर औलामा गन्न सकिने अवस्था थियो। असार पहिलो साता डेनमार्कको कोपनहेगनमा भएको नेपाली जनसम्पर्क समितिको बिश्वस्तरीय भेलामा सुरुका दिन सम्झँदै गुरुङले भने, ‘अहिलेजस्तो कहाँ हो र त्यतिबेला त काम गर्न पनि निक्कै सजिलो थियो नि।’ यसको पछाडिको एउटा कारण भनेको विदेशमा नेपाल शान्तिको देश भनेर परिचित थियो। तर नेपालमा प्रजातन्त्र भने थिएन। यस्तो बेलामा नेपाली कांग्रेसले उनै गुरुङलाई सिंगो युरोपमा नेपालमा मानव अधिकार र प्रजातन्त्र भएन भनेर त्यसका पक्षमा अन्तर्राष्ट्रिय जनमत सिर्जना गर्ने जिम्मेवारी दिएको थियो।
कामकै सिलसिलामा प्रजातन्त्रका पक्षमा अन्तर्राष्ट्रिय जनमत बनाएपछि २०४६ सालमा सुरु भएको आन्दोलनमा सक्रिय सहभागी हुन उनी ३ महिना नेपाल गएका थिए। लामो संघर्षपछि अन्ततः नेपालमा प्रजातन्त्र पुनस्र्थापना भयो। त्यसपछि गुरुङ राजनीतिबाट बिस्तारै पछाडि हटे। भन्छन्– त्यसपछि मेरो लागि विदेशमा बसेर राजनीति गर्नु जरुरी भएन।’
तर प्रजातन्त्र पुनस्र्थापना भएको एक दशक नबित्दै नेपाली कांग्रेसका नेतामा द्वन्द्व सुरु भयो। ‘भाइफुटे गवाँर लुटे’ भनेजस्तै कांग्रेस कमजोर भएपछि माओवादीले हिंसाको राजनीति सुरु गर्यो। त्यही हिंसाको मारमा परेर योग्य र सक्षम युवापुस्ता विदेश पस्न बाध्य भएको उनको बुझाइ छ। यसलाई उनी नेपालमा कालो दिनको सुरुवात मान्छन्।
यसैक्रममा राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको दरबार हत्याकाण्डपछि २००५ मा राजा ज्ञानेन्द्रले निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई हटाएर शासनसत्ता आफ्नो हातमा लिएका थिए। त्यसपछि पुनः नेपालमा लोकतन्त्रका पक्षमा युरोपको जनमत बढाउने गरी तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले उनैलाई समितिको युरोप संयोजकको जिम्मा सुम्पिएका थिए।
त्यसक्रममा विदेशमा रहेका नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली संघको संस्थापक अध्यक्षमात्र होइन, लगातार ४ पटक अध्यक्ष भए गुरुङ।
नेपालीहरु कहाँ छन् भनेर खोजी गर्दै कांग्रेसहरु भएको ठाउँमा तदर्थ समिति गठन गर्दै हिडें। जर्मनमा नेपाली जनसम्पर्क समिति उनकै पहलमा गठन भएको हो। कांग्रेसको बिधानमा उल्लेख नभए पनि जनसम्पर्क समितिलाई पार्टीको महाधिवेशनमा मताधिकारसहितको प्रतिनिधित्व गराउनका लागि गुरुङले कम्ति पहल गरेका थिएनन्।
‘१००० क्रियाशील सदस्य भएको देशबाट ७ जना प्रतिनिधित्व गराउने निर्णय त भयो ’ गुरुङले भने ‘तर स–साना देशमा त्यो संख्या पुर्याउनु कम्ति कठिनाई थिएन।’
महामिति सदस्यका रुपमा अधिकार पाए पनि कर्तव्य र जिम्मेवारी निर्वाह गर्नबाट कतिपय सदस्य चुकेपछि केही देशका समिति क्लबका रुपमा परिणत भएको उनको ठम्याई छ। यसको मुख्य कारण व्यक्तिगत ‘इगो’ ठान्छन् उनी। जसले सिंगो संस्थामा दाग लाग.ेको गुरुङको बुझाइ छ।
भन्छन् ‘हाम्रो जिम्मेवारी नेपाल हो। त्यसपछि कांग्रेस पार्टी हो भन्ने कुरा बिर्सिदा यो अबस्था आएको हो।’ लोकतन्त्र र मानव अधिकारजस्ता प्रमुख मुद्धा त छदैछन्, साथै पार्टीलाई बिदेशमा सिकेका सीप कसरी हस्तान्तरण गर्ने? कसरी आर्थिक रुपमा सक्षम बनाउने र चुनाबमा कसरी बढीभन्दा सहभागिता बढाउने भन्नेतर्फ बढी केन्द्रीत हुन जनसम्पर्क समितिमा आबद्ध कांग्रेसजनलाई उनको सुझाब छ।
राष्ट्रियता, लोकतन्त्र र समाजबादजस्ता मूल सिद्धान्तमा कांग्रेसका कुनै पनि नेताबीच मतभेद छैन। उनी भन्छन् ‘जबकि बाहिरी मुलुकमा हेर्ने हो भने नेताहरूबीच सिद्धान्तमा मतभेद हुने गर्दछ, कुर्सीका लागि होइन।’ जसले गर्दा उनीहरू विकासलाई पहिलो प्राथमिकतामा राख्ने गर्दछन्।
व्यक्तिगत रिसइबीका कारण सिंगो संस्था बिग्रिन लागेकोमा उनलाई सबैभन्दा बढी चिन्ता छ।
केन्द्रदेखि तलसम्मको झगडाले देश, पार्टी र कार्यकर्तासमेत बिग्रने खतरा देख्छन् उनी। उनको बुझाईमा यो झगडा सिद्धान्तभन्दा पनि व्यक्तिगत ‘इगो’ र ‘पावर’ को हो। बिदेशमा बस्ने कांग्रेस निकटमा समेत देखिएको क्यान्सररुपी यो झगडालाई जरैबाट उखलेर फाल्नु पर्नेमा गुरुङ जोड दिन्छन्।