गुल्मीको धुर्कोट गाउँपालिकाले आफ्नो पालिकामा रहेका ज्येष्ठ नागरिकलाई रेडियो सेट र लौरो वितरण गरेको छ । पालिकाहरूमा भैरहेको कार्यप्रति आलोचना बढिरहेका वेला धुर्कोटले सानो तर लोकप्रिय कार्यक्रम गरेको हो। गाउँपालिकाले आफ्नो क्षेत्रका ७ वटै वटाका झण्डै २ सय जेष्ठ नागरिकलाई यी सामग्री वितरण गरिने जनाएको छ ।
गाउँपालिका प्रमुख भुपाल पोख्रेलले वृद्धवृद्धालाई रेडियो र लौरो सहारा हुने मान्यता रहेकाले यस्तो कार्यक्रम गरिएको बताए । पालिकाभित्र रहेका ७५ वर्षमाथिका वृद्धवृद्धालाई पायक पर्ने स्थानमा बोलाएर यी सामग्री वितरण गरिएको उपाध्यक्ष शिव केसीले जानकारी दिए ।
उनका अनुसार पालिकाभित्रका ७५ वर्षमाथिका २ सयजति ज्येष्ठ नागरिक रहेकाले सोहीअनुसार कार्यक्रम थालिएको बताए । पहिलो चरणमा बिहीबार गाउँपालिका कार्यालयनजिक २८ जना जेष्ठ नागरिकलाई रेडियो र लौरो वितरण गरियो । दुई चार सयमै आउने लौरो र रेडियो पाएपछि जेष्ठ नागरिकहरू भने निकै खुसी देखिएका थिए । उनीहरूले पालिकाले आफूहरुलाई सम्मान गरेको प्रतिक्रियासमेत दिएका छन् । पालिकाको नयाँ कार्यालय निमार्ण गरेर प्रदेशमै पहिलो भएको दावी गरेको छ ।