नेकपा महासचिव विष्णु पौडेलले कालीगण्डकी–तिनाउ डाइभर्सन निर्माणका लागि गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई मनाउने जिम्मा आफूले लिने बताएका छन् । उनले सरकारले जिम्मा दिए त्यसको ‘डिल’ आफैंले गर्ने जिकर गरे ।
पौडेलले कालीगण्डकी तिनाउ डाइभर्सनको विरोध गर्दै आएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र पाल्पा तथा स्याङ्जाका स्थानीय बासिन्दालाई मनाउने जिम्मा आफूले लिने भन्दै गलत हल्ला नफैलाउन आग्रह पनि गरे ।
‘प्रदेश ४ का मुख्यमन्त्री र तल्लो तटीय क्षेत्रका बासिन्दाले डाइभर्सन हुन दिन्नौंं भनेको मैले पनि सुनेको छु । तर उहाँँहरूलाई कसरी कन्भिन्स गर्ने भन्ने जिम्मा मेरो भयो,’ बुटवलमा मंगलबार आयोजित कार्यक्रममा उनले भने, ‘उहाँहरूको चिन्ता तल्लो तटीय क्षेत्रमा पानीको मात्रा नघटोस् भन्ने हो, त्यसको विकल्प हामी दिन्छौं र डाइभर्सन गराएरै छाड्छौं ।’ यो वर्षको अन्त्यसम्म कालीगण्डकी–तिनाउ डाइभर्सनको डीपीआर तयार हुने भन्दै महासचिव पौडेलले ३० किमि सुरुङ खन्नुपर्ने भएकाले निर्माण हुन भने समय लाग्ने बताए ।
आफ्नो चुनावी मुद्दासमेत भएकाले पौडेलले रूपन्देही आउँदा कालीगण्डकी–तिनाउ डाइभर्सनबारे धरणा राख्दै आएका छन् । उनले पैसा र समय केही बढी लाग्ने भए पनि यसको विकल्प अर्को नभएको दाबी गरे । उनले सरकारले डीपीआर तयार भएपछि त्यसबारे योजनाबद्ध ढंगले काम अघि बढाउने विश्वास व्यक्त गरे ।