नेकपा अध्यक्ष पुष्पकमल दाहालले पूर्वराजा ज्ञानेन्द्र शााहलाई नागार्जुन दरबारबाट निकाल्ने चेतावनी दिएको घटनाप्रति गोरक्ष राष्ट्रिय जागरण अभियान नेपाल,नागरिक संघर्ष समाज रुपन्देही लगायतका राजावादी संघ संस्थाहरुले आपत्ति जनाएका छन्।
नागरिक संघर्ष समाज रुपन्देहीले बुधबार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाएको हो। गोरक्ष राष्ट्रिय जागरण अभियान नेपालका राजनीतिक संयोजक रुपसिंह थापाले प्रचण्डको अभिव्यक्ति आतंकित मानसिकताको उपज भएको भन्दै आपत्ति जनाए।
राजनीतिक दलहरुको निर्णय स्वीकारेर नागार्जुन दरबारमा बसेका पुर्व राजा ज्ञानेन्द्रलाई दरबारबाटै जनताले लखेट्ने अभिव्यक्ति दिनु दुःखद भएको भन्दै उनले प्रचण्डलाई सच्चिन सुझाव समेत दिए।
कार्यक्रममा नागरिक संघर्ष समिति रुपन्देहीका संयोजक वजिर थापाले ज्ञानेन्द्रलाई जनताले नागार्जुन दरबारबाट लखेट्ने नभएर प्रचण्डलाई आफ्नै कार्यकर्ताले लखेट्ने दिन आउने चेतावनी दिए।
पूर्व कार्यकर्ता पदम कुँवरले गालामा थप्पड हानेको र पुर्व लडाकु लेनिन बिष्टले अन्तर्राष्ट्रिय अदालतमा मुद्धा हालेको स्मरण गराउदै उनले दरबारमा चुपचाप बसेका पुर्व राजा ज्ञानेन्द्रबिरुद्ध जथाभावी अभिव्यक्ति नदिन चेतावनी दिए।