संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ३० डिसेम्वरमा गौतमबुद्ध विमानस्थलमा विमान अवतरण गराउने सपनाको रुपमा आफूले हरेक दिन नोटीसमा लिने बताएका छन् ।
प्रेस संगठन रुपन्देहीद्धारा बिहीवार बुटवलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले यस क्षेत्रका जनताले पनि त्यसलाई सपना बनाउनु पर्नेमा जोड दिए ।
३० डिसेम्वरमा गौतमबुद्ध विमानस्थलमा जसरी पनि विमान अवतरण गराउनै पर्ने जिम्मेवारी र दायित्व पूरा गर्न सोही अनुरुप काम अगाडि बढिरहेको जानकारी दिए । लुम्बिनी विकास कोषको बैठकका लागि रुपन्देही आएका मन्त्री भट्टराईले लुम्बिनी, तिलौराकोट, रामनगर देवदह लगायत गौतमुद्धसँग सम्बन्धित क्षेत्रहरुलाई समेटेर त्यस क्षेत्रको पर्यटन प्रवद्र्धनकालागि बृहद गुरुयोजना तयार गरिने बताए ।
नेपाल सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्राउने लक्ष्य लिएको स्मरण गराउदै उनले ५० लाख नेपाली हाल विदेशमा रहेको र विदेशमा बस्ने एक नेपालीले एक जना पर्यटक नेपाल पठाउने अभियान सञ्चालन गर्ने बताए । बर्तमान सरकारको बाटो गलत नभएको भन्दै उनले तर रफ्तार भने सोचे जति नबढेको स्विकार गरे । यद्यपी अब सरकारको रफ्तार तिब्र रुपमा अगाडी बढ्ने विस्वास व्यक्त गरे ।
यसैविच सन् २०१९ को अन्तिम सम्ममा निजगढ विमानस्थलको सिलन्यास गर्नेगरी काम अगाडि बढेको भन्दै मन्त्री भट्टराईले सो विमानस्थल सिलन्यासमा बुटवलवासीहरुलाई निम्ता समेत दिए । मन्त्री भट्टराइले नीजगढको विमानस्थल बनाएरै छाड्ने उद्घोष गरे । उद्घाटनका बेला देशभरका मान्छेहरु निजगढमा उतार्ने बताए । निजगढको उद्घाटन दशौं लाख मानिसका बिचमा हुने भन्दै उनले बुटवलवासीलाई बसका बस आउन समेत निम्तो दिए । ‘निजगढको जंगल भरी लाखौं मान्छे हुनेछन् ,बाधा अबरोध हटाउदै जान्छौं ।’