कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली विकट नभई प्रकृतिको वरदान भएको बताएका छन् ।
शिक्षक दरबन्दी पुनःवितरण कार्यदलद्वारा आयोजित सुझाव सङ्कलन कार्यक्रममा उनले भने, “कर्णालीलाई विकट र गरीब प्रदेश भनेर मनोवैज्ञानिक त्रास फैलाइ कमजोर बनाइएको छ, यहाँको ढुङ्गा, माटो र हावापानीमा डलर छ भन्ने चिन्नुपर्दछ ।”
मुख्यमन्त्री शाहीले कर्णालीभित्रको प्राकृतिक सम्पदालाई चिन्न र त्यसलाई विश्व बजारमा विक्री गर्न सक्ने व्यावहारिक एवं प्राविधिक शिक्षा आजको आवश्यकता भएको उल्लेख गर्दै अब मानिसको जीवनस्तरमा आमूल परिवर्तन गर्ने खालका शिक्षा आजको आवश्यकता भएकाे बताए ।
सामाजिक विकासमन्त्री दल रावलले मानव विकासको मुख्य आधार शिक्षा भएकाले मुलुक गरिखाने शिक्षामा गम्भीर भएर लाग्नुपर्ने बताउँदै यसका लागि कर्णाली प्रदेश सरकारले पर्वतीय प्राविधिक विश्वविद्यालय स्थापनाको अवधारणा अघि बढाएको धारणा व्यक्त गरे ।