राजा महेन्द्रइजरायललाई मान्यता दिन नहुने पक्षमा थिए। उनी जापान र अमेरिका भ्रमणमा रहेका बेला यता सरकारले इजरायलसँग कूटनीतिक सम्बन्ध कायम गर्ने सहमति गर्यो। सिङ्गो दक्षिण एसियामै इजरायलसँग कूटनीतिक सम्बन्ध स्थापित गर्न निर्णय गर्ने पहिलो मुलुक नेपाल भयो। इजरायलसँग सम्बन्ध गाँस्ने वीपीको त्यो निर्णय भारतीय प्रधानमन्त्री नेहरुलाई समेत मन परेको थिएन।
सरकारले निर्णय गरिसकेपछि पनि राजाले प्रधानमन्त्रीलाई अन्तिम समयसम्म इजरायललाई मान्यता नदिन दबाब दिए। तीन घण्टा लामो चर्काचर्कीपछि पनि राजा र प्रधानमन्त्रीबीच मतैक्य हुन सकेन। वचन दिइसकेकाले निर्णय फिर्ता गर्न नहुने अडानमा प्रधानमन्त्री थिए। यही वातावरणबीच २०१७ साउन २१ गते वीपीले सबै मन्त्रीहरुलाई नारायणहिटी दरबारमै बोलाएका थिए।
निर्वाचित मन्त्रिपरिषद्को बैठक पहिलो पटक दरबारभित्रै बस्यो। त्यसको तीन दिनपछि साउन २४ गते वीपी इजरायल भ्रमणमा गए। बैठकबारे अनेकौं टिप्पणी भएपछि प्रधानमन्त्रीको निजी सचिवालयले साउन २५ गते वक्तव्य निकालेर ‘राजा लामो समय विदेशमा बसेर फर्केकाले प्रधानमन्त्रीले आफ्ना सहयोगी मन्त्रीहरुलाई राजाको दर्शन भेटका लागि बेलुका दरबारमा बोलाउनुभएको हो’ भने।
भ्रम निवारण गर्ने उपाय
इजरायलबाट फर्किए लगत्तै एक बिहान वीपीले गृहमन्त्री सूर्यप्रसाद उपाध्यायलाई फोन गरेर भने,‘सूर्यबाबु, म ब्रेकफास्टका लागि तपाईँ कहाँ आउँदै छु।’ भाटभटेनीस्थित गृहमन्त्री उपाध्यायको निवासमा ब्रेकफास्ट गरेपछि वीपीले फेरि भने,‘सूर्यबाबु, तपाईँ मेरो मोटरमा बस्नुस्। तपाईँको मोटर पछि पछि आउँछ।’ दुवै प्रधानमन्त्रीको मोटरमा चढे तर, उपाध्याय त्यति बेलासम्म गन्तव्यबारे अनभिज्ञ थिए।
प्रधानमन्त्रीको इसारामा मोटर ललिता निवासतर्फ हुइँकियो। पूर्व सूचनाबिना प्रधानमन्त्री र गृहमन्त्री आफ्नो निवास पुगेकाले छक्क पर्दै उपप्रधानमन्त्री सुवर्णले भने,‘हैन वीपीबाबु, खबर गरेको भए मै भेट्न आउँथे नि।’ प्रत्युत्तरमा प्रधानमन्त्रीले भने,‘ठीकै छ, हामी आइहाल्यौं, जानका लागि तयार हुनोस्।’
प्रधानमन्त्री वीपीले उपप्रधानमन्त्री सुवर्ण र गृहमन्त्री सूर्यप्रसादलाई आफ्नै मोटरमा बस्न भने। दुवैका मोटरले प्रधानमन्त्रीलाई पछ्याउन थाले। बालुवाटारबाट छुट्दा पनि वीपी बाहेक दुवैलाई गन्तव्य थाहा थिएन। नक्साल हुँदै प्रधानमन्त्रीको गाडी कल्पना प्रेस (नागपोखरी नजिक हात्तीसार) अगाडि गएर रोकियो। कल्पना प्रेस वीपीका भाइ तारिणीप्रसाद कोइरालाले चलाएका थिए, जो त्यस बखत प्रधानमन्त्रीका निजी सचिव समेत थिए। बीपी पुग्दा तारिणी र गिरिजाप्रसाद बार्दलीमा थिए।
वीपीलाई देख्ने बित्तिकै गिरिजा दौडिएर कोठाभित्र पसे। त्यो समयमा गिरिजाबाबु वीपीका अगाडि बोल्न सक्दैनथे। वीपीले तारिणीलाई बोलाएर सोधे,‘तारिणी, इजरायलबाट फर्किएपछि त्यहाँ प्राप्त गिफ्टमध्ये सरकारलाई बुझाउनुपर्ने सामान बुझाइस् त?’
तारिणीले भने, ‘बुझाएँ सान्दाइ।’
वीपीले फेरि सोधे, ‘त्यसो भए बुझाएको रसिद पनि त होला नि?’
तारिणीले भने,‘छ सान्दाजु।’
ठीक छ, १२ बजे कागजपत्र लिएर मेरो अफिसमा आइज। बीपी त्यति भनेर उपप्रधानमन्त्री र गृहमन्त्रीलाई आफ्नै मोटरमा राखी सिंहदरबारतर्फ लागे। संसदको बैठक चलिरहेको थियो। ग्यालरी बैठकमा केही समय बसेपछि तीनै जना प्रधानमन्त्रीको कार्यकक्षमा पुगे। १२ बजे प्रधानमन्त्रीले तारिणीलाई खोजे। उनी पुगिसकेका थिए। प्रधानमन्त्रीले सोधे,‘ल्याइस् त?’ तारिणीले सामान बुझाएको रसिद दिए।
इजरायलबाट फर्किएपछि प्रधानमन्त्रीलाई गिफ्टका रुपमा दिइएको हतियार गृह मन्त्रालयमा नबुझाएको रिपोर्ट गृहमन्त्रीलाई भएछ। हुन त गृहमन्त्रीले वीपीलार्ई यसबारेमा केही भनेका थिएनन्। ‘गृहमन्त्रीलाई बोलाएर सामान बुझाएको भनिदिए पनि हुन्थ्यो। नभने पनि फरक पर्ने थिएन। उपप्रधानमन्त्री र गृहमन्त्रीको विश्वास जित्न प्रधानमन्त्रीले यो सबै काम गरेका थिए।
–पत्रकार जगत नेपालकाे पहिलो संसद् वीपी–महेन्द्र टकराव पुस्तकबाट