नेकपा कर्णाली प्रदेश संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध पेस भएको अविश्वासको प्रस्ताव अस्वीकृत भएको छ । शुक्रबार बसेको दलको बैठकले बहुमतको आधारमा प्रस्ताव अस्वीकृत गरेको हाे ।
प्रमुख सचेतक सीता नेपालीको अध्यक्षतामा बसेको बैठकमा उपस्थित १८ सांसदले प्रस्तावको विपक्षमा मत जाहेर गरेका थिए । सांसद यामलाल कँडेलको अगुवाइमा असोज २५ गते १८ जना सांसदले शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । तीमध्ये ९ जनाले आफ्नो हस्ताक्षर फिर्ता लिएपछि प्रस्ताव अल्पमतमा परेको हो ।
शुक्रबारको बैठकले दफा २४ (४) बमोजिम बहुमतको आधारमा निर्णय गरेको प्रमुख सचेतक नेपालीले बताइन् । विधानको दफा २४ (५) बमोजिम दलका नेताविरुद्ध वर्षमा एक पटकमात्र अविश्वासको प्रस्ताव दर्ता गर्न मिल्छ । यस हिसाबले मुख्यमन्त्री शाहीमाथि संसदीय दलबाट हुनसक्ने संकट एक वर्षको लागि टरेको छ ।
कँडेलपक्षीय सांसद गुलावजंग शाहले भने मुख्यमन्त्रीले अल्पमतमा परेको अवस्थामा गरिएको निर्णयको आधारमा भएको बैठकलाई वैधता दिन नसकिने बताए । ४० सदस्यीय कर्णाली प्रदेशसभामा नेकपाका ३३ सांसद छन् ।