क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै सांसद पदबाट राजीनामा बुझाएका नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहलाई कारबाही गर्न गृहजिल्ला सर्लाहीका नेता कार्यकर्ताहरुले माग गरेका छन्।
कांग्रेसबाट प्रदेशका मन्त्री बनेका प्रदेश सांसदसहित १२ जनाले बिहीबार सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र लेख्दै यस्तो माग गरेका हुन्। बुधबार सभापति शेरबहादुर देउवालाई राजीनामा बुझाएका सिंहलाई कारबाही नगरिए आफूहरुले पदबाट राजीनामा दिने उनीहरुले घोषणा गरेका छन् । सांसद सिंहको तानाशाही र अधिनायकवादी प्रवृत्तिबाट सर्लाही क्षेत्र नम्बर ४ का नेता÷कार्यकर्ता आतंकित भइसकेको ध्यानकर्षण पत्रमा उनीहरुले उल्लेख गरेका छन्।
प्रदेश सभा सदस्य एवं प्रदेश २ का महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र सिंह भन्छन्, ‘पार्टी विरोधी र पार्टी संगठनलाई कमजोर गर्ने कार्यमा संलग्न सिंहलाई पार्टी विधान बमोजिम कारबाही नभए हामी आफ्नो पदीय जिम्मेवारीबाट राजीनामा दिन्छौं।’
पत्रमा मन्त्री सिंहसहित, प्रदेश सभा सदस्य उपेन्द्र प्रसाद कुशवाहा, क्षेत्रीय सभापति राम आश्रय साह, बसबरिया गाउँपालिका अध्यक्ष राम अयोध्या यादव, रामनगर गाउँपालिका अध्यक्ष नितु कुमारी यादव, क्षेत्रिय सभापति हरेन्द्र सहनी, अशोक कुमार सिंह, बाल किशोर सिंह, उपेन्द्र महतो, लालबाबु महतो, बैजनाथ प्रसाद सिंह र राम एकवाल साहले हस्ताक्षर गरेका छन्। सिंहको पार्टी विरोधी कृयाकलाप तथा व्यवहारले जिल्ला र क्षेत्रमा चिन्ताजनक स्थिति उत्पन्न गराएको उनीहरुको भनाइ छ ।
पटक–पटक आफ्नो संसदीय कोषको रकम हिनामिना गरी पार्टीलाई बदनाम गराउने, विपद र दैवी प्रकोपको बेला पनि एक पटक क्षेत्रमा नआउने र अहिले महाधिवेशनको लागि जिल्ला र क्षेत्रले संचालन गरेका कार्यक्रमहरुमा नआउने तर वडा, पालिका, प्रदेश, क्षेत्र, प्रतिनिधि सभामा क्षेत्र र जिल्ला कार्य समितिहरुले गरेका निर्णयहरुलाई नमानी कुल्चेर अगाडि बढ्न बिभिन्न जालझेल र तानाशाही प्रबृत्ति अबलम्बन गर्ने गरेको पत्रमा उल्लेख गरिएको छ ।
आफ्नै परिवारका १३ जना सदस्यलाई क्रियाशील सदस्यता दिलाएका व्यक्तिलाई पनि बिनाकारण पार्टी कार्यालय सानेपामा अनसन बस्न लगाएको आरोप उनीहरुको छ। सर्लाहीको क्षेत्र नम्बर ४ अन्तर्गत बसबरिया गाउँपालिका १ (विगतको मानपुर गाविस) का रामगोबिन्द रायले आफ्ना परिवारका १३ जनालाई क्रियाशिल सदस्यता दिलाउँदा समेत उनी अमरेशकै उक्साहटमा विना कारण अनसनमा बसेको भन्दै वडा सभापतिले पार्टी सभापति एवं प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका छन्।