तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश राजधानी हेटौँडा नै कायम गर्नका लागि भूमिका खेल्न हेटौँडाबासीलाई आग्रह गरेका छन्।
आइतबार हेटौँडामा न्युज क्लवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले हाल अस्थायीरुपमा प्रदेश राजधानी भएकाले यसलाई स्थायी बनाउनका लागि आफूले भूमिका खेलिरहेको बताए। हेटौँडालाई प्रदेश राजधानी बनाउनका लागि आवश्यक सबै पूर्वाधारहरु तय हुँदै जानुपर्ने भन्दै मुख्यमन्त्री पौडेलले सबै पक्षले हेटौँडालाई प्रदेश राजधानी बनाउनका लागि आफ्नो क्षेत्रबाट भूमिका खेल्नुपर्नेमा जोड दिए।
तीन नम्बर प्रदेश संसदमा प्रदेश राजधानी तोकिने विषय विचाराधीन छ। भक्तपुर, काभ्रे र चितवनले समेत प्रदेश राजधानी हुनुपर्ने जिकिर गर्दै संसदमा यसअघिदेखि नै लिखित माग गर्दै आइरहेका बेला मुख्यमन्त्री पौडेलले हेटौँडाको पक्षमा बहस गर्दै आइरहेका छन्।
कार्यक्रममा प्रदेश सांसद प्रेमबहादुर पुलामी छिन्तु, नेकपाका नेता श्रीधर पोखरेल, प्रेस संगठन केन्द्रीय सदस्य राजन दाहाल लगायतले बोलेका थिए। साझा मञ्चको रुपमा न्यूज क्लवले साक्षात्कारमा सघाउ पुर्याउने गरी आइतबारबाट सञ्चालनमा ल्याइएको हो। प्रदेश स्तरीय साझा समाचार चौतारीका रुपमा न्यूज क्लवलाई विकसित गरिएको सञ्चालक पत्रकार धर्मेन्द्र दाहालले जानकारी दिए।
क्रियशन मिडिया एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालिले सञ्चालन गर्ने न्यूज क्लवसँगै खबरब्रेक मासिक पत्रिका र खबरब्रेक टिभी सञ्चालन गरिने भएको छ।