आसन्न १४ औं महाधिवेशनमा सभापतिमा उम्मेद्वारी दिने तयारीका साथ काठमाडौंको नयाँ बानेश्वरमा सम्पर्क कार्यालय खोलेपछि पहिलो पटक गृहनगर जनकपुर पुगेका नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिलाइ जनकपुर बिमानस्थलमा बुधबार साँझ ठूलो संख्यामा उपस्थित नेता, कार्यकर्ताले स्वागत गरेका छन्।
नेता, कार्यकर्ताको अपार स्नेह पाएका सभापतिका उम्मेद्वार निधिले बिमानस्थलबाट एक किलोमिटर टाढा रहेको धनुषा कांग्रेसको पार्टी अफिसमा पुगेर सम्बोधन गरेका थिए।
निधिले मधेशमा कांग्रेसले जितेमात्र देशभर कांग्रेसले जित्ने भएकोले आगामी निर्वाचनमा कांग्रेसको चुनाब चिन्ह रुपमा मतदान गर्न आह्वान गरे। देशले कांग्रेस खोजेको छ, उनले भने, मधेशले पनि कांग्रेस खोजेको छ। सभापतिमा प्रतिस्पर्धा गर्ने निर्णय गरेपछि पहाडका साथीहरुले बिशेषगरी झापादेखि कंचनपुरसम्मको तराई मधेश क्षेत्रमा कांग्रेसको अबस्था बलियो बनाउनका लागि आफूलाई फोन गरेको बताए। कांग्रेसको आधारभूमि भनेको तराई मधेश भएको स्मरण गर्दै निधिले तराई मधेशमा कांग्रेस कमजोर भएमा सिंगो देशमा कांग्रेस कमजोर हुने दाबी गरे।
त्यसकारण तराई मधेशका कांग्रेसको काँधमा यतिबेला ठूलो जिम्मेवारी आएको उनको भनाई थियो। उपसभापति निधिले त्यहि जिम्मेवारी पूरा गर्न आगामी महाधिवेशनमा सभापतिको उम्मेद्वारी दिन लागेको उल्लेख गरे।
देश र जनता चुनाबको पक्षमा रहेको भन्दै निधिले रुख चिन्हमा भोट हालेर कांग्रेसलाई सत्ता हस्तान्तरण गर्न देश र जनताले चाहेको बताए। निधिले कार्यक्रममा उपस्थित नेता कार्यकर्ताहरुलाई आगामी चुनाबमा कांग्रेसलाई सबैभन्दा ठूलो दल बनाउनका लागि आफूले १४ औं महाधिबेशनमा सभापतिमा उम्मेद्वारी दिन लागेको बताएका थिए।