प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले संविधानको मर्म र भावनाअनुसार प्रदेश सरकार अगाडि बढ्ने बताएका छन् ।
सामाजिक विकास मन्त्रालय प्रदेश नं १ ले स्वास्थ्य निर्देशनालय र शिक्षा विकास निर्देशनालयको स्थापना गर्न धनकुटामा बिहीबार आयोजना गरेको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री राईले त्यस्तो बताएका हुन् ।
देश सङ्घीयतामा गएकाले सङ्घीय संरचनाबाट जनतालाई सेवाको अनुभूति गराउने क्रममा प्रदेश सरकार रहेको भन्दै उनले जनताको भावना र मर्मअनुसार काम गर्ने बेला आएको बताए ।
मुख्यमन्त्री राईले प्रदेश सरकारको पहिलो कोसेली दुई वटा शक्तिशाली निर्देशनालय धनकुटाले पाएको भन्दै धनकुटेली जनतालाई बधाई दिए । पहिले पूर्वाञ्चलकोे सदरमुकाम रहेको धनकुटाबाट अस्थायी राजधानी विराटनगर तोकिँदा आन्दोलित धनकुटेलीको भावनामा निर्देशनालयको स्थापनाले सम्मान पुगेको भन्दै मुख्यमन्त्री राईले प्रदेशको स्थायी राजधानी धनकुटा हुन्छ की हुन्न भनेर धेरै चिन्तित नहुन आग्रह गरे।
सोही अवसरमा मुख्यमन्त्री राईले देश सङ्घीयतामार्फत नयाँ ढाँचामा जाने क्रममा रहेकाले पुरानो ढाँचाको संरचना सम्झेर राजधानी कहाँ हुने र नामाङ्कन के हुनेमा अल्मलिनु नहुने बताए।
उहाँले अहिले सानातिना विषयमा अल्मलिँदा प्रदेशको दीर्घकालीन विकासमा समस्या हुन सक्ने भन्दै उच्च मानसिकताका साथ राजनीतिक दल र कर्मचारी जनताको काममा लाग्नुपर्नेमा जोड दिए।