वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी नेकपा (एमाले)मा प्रवेश गरेका छन्।
शनिबार वीरगञ्जमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरावगीलाई एमालेमा स्वागत गरेका छन्। उनी जनता समाजवादी पार्टी (जसपा) छोडेर एमालेमा प्रवेश गरेका हुन्।
यसअघि नेपाली कांग्रेस प्रवेश गर्न प्रयास गरे पनि ‘ग्रीन सिग्नल’ नपाउँदा सरावगी अन्ततः एमाले प्रवेश गरेका हुन्।
‘पार्टी छोड्छु भनेर १०/१२ दिनअघि नेताहरूलाई जानकारी गराइसकेको छु,’ सरावगीले भने, ‘पहिलो रोजाइ त कांग्रेस नै थियो। तर, त्यो च्याप्टर अब बन्द भइसक्यो।’
एमालेमा प्रवेश गरेका मेयर सरावगीले जसपाभित्र देखिएको जातीय राजनीतिको कारणले पार्टी परित्याग गरेको बताएका छन्। उनले जातिवादी चिन्तनबाट ग्रस्त रहेको पार्टी राष्ट्रिय पार्टी बन्न सक्ने जिकिर गरे।
उनी २०७४ को स्थानीय निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट मेयरमा निर्वाचित भएका थिए। उनले १९ हजार ३९३ मत पाएका थिए।
उनका निकटतम प्रतिद्वन्द्वि राष्ट्रिय जनता पार्टी (राजपा) का राजेशमान सिंहले १२ हजार १६५ मत पाएका थिए। त्यस्तै, लोकतान्त्रिक फोरमका विमल श्रीवास्तवले ८ हजार ७०१, एमालेका बसरुद्धीन अंसारीले ८ हजार ६८८ र नेकपा (माओवादी केन्द्र) का रहवर अन्सारीले ८ हजार ३०५ पाएका थिए।