नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले कांग्रेसलाई परनिर्भर नभई आत्मनिर्भर पार्टी बनाउनु पर्नेमा जोड दिएका छन्।
१४ औं अधिवेशनबाट निर्वाचित धनुषाका सभापतिसहित पदाधिकारी तथा सदस्यहरुलाई बुधबार आयोजित प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वउपसभापति निधिले यस्तो धारणा अगाडि सारेका हुन्।
आसन्न स्थानीय निर्वाचनमा सत्तारुढ दलहरुबीच सहकार्य गर्नेबारे छलफल चलिरहेका बेला उनले आत्मनिर्भर पार्टी बनाउनका लागि कांग्रेस एक्लै चुनाबमा जानुपर्ने बताए।
संविधान र प्रणालीको रक्षाका लागि दलहरुबीच सहमति र सहकार्य आबश्यक भएको उल्लेख गर्दै निधिले एकताबद्ध भएर आसन्न स्थानीय चुनावमा जाँकांग्रेस एक्लैले बहुसंख्याक पालिकामा चुनाब जित्ने दाबी गरे। अहिले देशभर कांग्रेसका पक्षमा राम्रो वातावरण रहेको निधिको भनाई थियो ।
कांग्रेसलाई जिताउन कार्यकर्तालाई घर–घरमा पुग्न आग्रह गर्दै उनले टिकट नपाउनेलाई आबेशमा नआई जसले टिकट पाएको छ उसैलाई एकताबद्ध भएर चुनाबी अभियानमा लाग्न उनले आग्रह गरे। टिकटका लागि अब नेताका घरमा नभई वडाका घर घरमा गएर जनतासँग कांग्रेस र मतदातासँग रुख चिन्हको अभियान संचालन गर्नुपर्ने बताए।
गत निर्वाचनमा कम्युनिष्ट पार्टीले दुई तिहाइको सरकार चलाउन नसकेको भन्दै पूर्ब उपसभापति निधिले जसपा, लोसपा लगायत अन्य कम्युनिष्ट पार्टीबाट संविधान र लोकतन्त्र संस्थागत हुन नसक्ने ठोकुवा गरे। लोकतन्त्रको रक्षाका लागि कांग्रेस नै एकमात्र भरपर्दो दल भएको उनको जिकिर थियो।
उनले पार्टीको आन्तरिक निर्वाचनलाई कसैले पनि हारजितका रुपमा लिन नहुने भन्दै निर्वाचित जिल्ला कार्यसमितिलाई संगठन बिस्तार र सुदृढिकरणमा सफलता मिलोस् भन्ने कामना गरेका थिए।
कार्यक्रममा नवनिर्बाचित सभापति योगेन्द्र पजियारले चुनावलाई आफूले आन्तरिक प्रतिस्पर्धाका रुपमा लिएको भन्दै चुनाव सकिएसँगै पार्टीका सवै साथीहरु एक ढिक्का भएर चुनाबमा जाने बताए। उनले आगामी निर्वाचनमा कांग्रेसलाई कसरी बलियो बनाउने भन्ने आफ्नो एकमात्र लक्ष्य भएको भन्दै २०४८ को अबस्थामा धनुषा कांग्रेसलाई पुर्याउने योजना उनले सुनाए।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यद्धय डा. चन्द्रमोहन यादव र मीनाक्षी झा, मधेश प्रदेशका भौतिक पूर्बाधार मन्त्री रामसारेज यादव, प्रदेश सांसद शिबचन्द्र चौधरी लगायतले नयाँ कार्यसमितिको सफल कार्यकालको कामना गरेका थिए।
सो अबसरमा निर्वाचित कार्यसमितिका सभापति, पदाधिकारी लगायत सदस्यहरुलाई प्रमाणपत्र बितरण गरिएको थियो। कांग्रेस धनुषाको निर्वाचनमा एकजना सदस्य बाहेक अन्य सबै पदमा पूर्ब उपसभापति निधि निकटको समूहले जितेको थियो।