हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले गत आर्थिक वर्षकाे कार्यप्रगति सार्वजनिक गरेका छन्।
शुक्रबार प्रगति विवरण सार्वजनिक गर्दै महतले बुटवल, पोखरा र हेटौँडाको चर्चा राष्ट्रिय रूपमा समेत हुने गरेको बताए। मेयर महतले भने,‘हामीले केही नयाँ काम गरेका छौँ।’
के–के गरे सुधार ?
स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा माओवादी र नेपाली कांग्रेसको एलाइन्सलाई समेत तोडेर राष्ट्रिय रूपमा चर्चा पाएका मेयर महत हक्की स्वभावका छन्। यसअघि उपमेयर भएर अनुभव लिएका उनले हेटौँडालाई फूलैफूलको सहर बनाउने अभियान चलाएका छन्।
अभियान अन्तर्गत सडक किनारमा फूल रोप्न थालिएको छ। फूलमात्रै नभएर फलफूलका विरूवालाई समेत रोप्न थालिएको उनले बताए। त्यसैगरी, हेटौँडामा अस्तब्यस्त मोटरसाइकल पार्किङलाई व्यवस्थित बनाए। नगर कार्यपालिकाले सार्वजनिक गरेको तथ्याङ्कमा आन्तरिक तथा बाह्य आयमा समेत वृद्धि भएको देखिएको छ। गत आर्थिक वर्षमा १७ करोड ७० हजार आन्तरिक आय हुने प्रक्षेपण गरिएकोमा १८ करोड ९२ लाख ८९ हजार ५४३ रूपैयाँ पुगेको मेयर महतले जानकारी दिए।
बाह्य आयमा १ अर्ब १३ करोड २१ लाख ८ हजार प्रक्षेपण गरिएकाेमा १ अर्ब २४ करोड ३ लाख ५ हजार ३०५ रूपैयाँ संकलन भएको थियो।चालूतर्फ गत आर्थिक वर्षमा ३३ करोड २ लाख ७२ हजार र पूँजीगततर्फ ९७ करोड १९ लाख ६ हजार गरी कूल १ अर्ब ३० करोड २१ लाख ७८ हजार रूपैयाँ खर्च गर्ने गरी योजना निर्माण गरेकाेमा १ अर्ब १५ करोड, ९३ ला ५ हजार ५ सय ९६ रूपैयाँ कार्यान्वयन भएको उपमहानगरपालिकाले जनाएको छ।
यो तथ्याङ्क हेर्दा योजना कार्यान्वयन सन्दर्भमा उमपहानगरपालिकाले ८८.४७ प्रतिशत प्रगति हासिल गरेको देखिन्छ। विनियोजित बजेट र योजनमध्ये कृषितर्फ ४ वटा योजना बिनियोजन भएकामा ४ वटै सम्पन्न भएको, पर्यटनतर्फ १४ योजनामध्ये १० वटा सम्पन्न भएको, स्वास्थ्यतर्फ ३ मध्ये २ वटा सम्पन्न भएको, शिक्षातर्फ २५ मध्ये १७ वटा सम्पन्न भएको उपमहानरपालिकाले जनाएको छ।
त्यसैगरी खानेपानीतर्फ ३३ वटामध्ये १९ वटा सम्पन्न भएको, संस्कृति प्रवर्द्धनतर्फ २४ वटामध्ये १५ वटा, खेलकुदतर्फ ९ वटामध्ये ४ वटा, लैंगिक समानता तथा सामाजिक समावेशीकरणतर्फ ९ मध्ये ६ वटा, स्थानीय सडक, पुल तथा झोलुंगे पुलतर्फ २८४ मध्ये २२२ वटा सम्पन्न भएको जनाइएको छ।
सिंचाईतर्फ १२ वटा योजनामध्ये ७ वटा सम्पन्न भएको, भवन तथा सहरी विकासतर्फ १५ मध्ये ५ वटा सम्पन्न भएको, वन तथा भू-संरक्षणतर्फ ५ मध्ये ३ वटा सम्पन्न भएको नगरकार्यपालिकाले उपलब्ध गराएको प्रतिवेदनमा उल्लेख छ। वातावरण संरक्षण, जलबायु परिवर्तनका एउटा योजना रहेकामा हालसम्म सम्पन्न भएको छैन भने फोहरमैला व्यवस्थापनका १३ मध्ये १२ वटा योजना सम्पन्न भएका छन्।
विपद व्यवस्थापनका ११ मध्ये ९, वडा कार्यालयमार्फत ५ लाख बजेट अन्तर्गत २६ मध्ये १९, अन्यत्र वर्गिकृत नभएका २२ मध्ये १४, वडा कार्यालय भवन निर्माण र स्तरोन्नतिका २ मध्ये २ नै, विविध निर्माणतर्फ ७४ मध्ये ४७, ह्युम पाइप उपलब्ध गराउनेतर्फ १ मध्ये १, ग्राभेल बिछ्याउने योजनाको ४७ मध्ये ५५ र ठेक्कातर्फ १० मध्ये ३ वटा सम्पन्न भएको उपमहानगरपालिका नगर कार्यपालिकाले जनाएको छ।
अबको योजना
उपमहानगरपालिकाकाे बसपार्कमा एउटा भब्य टावर बनाउने योजना छ। जहाँबाट हेटौँडाका सम्पूर्ण दृष्य देख्न सकियोस्। यात्रूले आराम गर्दै हेटौँडाको मनोरम दृष्य हेर्न पाउने गरी भ्यूटावर निर्माण गरी आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य छ।
त्यसैगरी किड्नी नेपाल र हेटौँडा अस्पतालसँगको समन्वय र हेटौँडा उपमहानगरको लगानीमा डायलसिस् सेवा तत्कालै उपलब्ध गराउने तयारी भइरहेको छ। मयुर र अटोजस्ता साना सवारीलाई नियमन गर्ने तयारी छ।