नेकपा एकीकृत समाजवादीका सांसद किसान श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेलाई रास्वपाका दाइ÷भाउजुले पेले भने कहाँ जानुहुन्छ नि भन्दै प्रश्न गरेका छन्।
पाँच दिनपछि हुने तनहुँ १ को उपनिर्वाचनको चुनावी सभालाई मंगलबार दमौलीमा सम्बोधन गर्दै सांसद श्रेष्ठले यस्तो प्रश्न गरेका हुन्। लोकतान्त्रिक–वामगठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईलाई अत्यधिक मतका साथ बिजयी गराउन उनले मतदातालाई आग्रह गरे।
गत चैत १६ गते कांग्रेस सभापति शेरबहादुर देउवासहित श्रीमती आरजु राणा देउवाको पेलाईका कारण पार्टीमा रहिरहन नसकेको भन्दै रास्वपामा प्रवेश गरेका वाग्ले कांग्रेस नेता भट्टराईसँग प्रतिस्पर्धा गर्न तनहुँ पुगेका छन्। नेता किसानले व्यक्तिगत स्वार्थका लागि तनहुँका जनतामाझ जथाभाबी नबोल्न पनि वागलेलाई चेतावनी दिए।
उनको प्रश्न थियो, ‘कांग्रेसमा दाई÷भाउजुले पेल्यो भन्दै पार्टी छाडेर रविको पार्टीमा जानु भयो। भोलि तपाईका पार्टी अध्यक्ष रवि र निकिता (भाउजु) पौडेल लामिछानेले पेलाइ दिनुभयो भने कहाँ जानुहुन्छ?’
विगतमा कांग्रेसबाट पटक पटक राजनीतिक लाभ लिन सफल भएका वाग्ले उपनिर्वाचनमा कांग्रेसबाट टिकट नपाएपछि रास्वपा प्रवेश गरेका हुन्। वाग्लेलाई गोरखा र चितवन छाडेर आएकोप्रति लक्षित गर्दै किसानले भने, ‘तनहुँ अरु जिल्लामा नेता निर्यात गर्न सक्ने जिल्ला हो, नेता आयात गर्नु पर्ने डम्पिङ साइट जिल्ला होइन। खबरदार तनहुँका जनतालाई बेबकुफ बनाउन सकिन्छ भन्ने सोच कसैले नराखे हुन्छ।’
२०७४ को निर्वाचनमा तनहुँबाट बिजयी भएका श्रेष्ठ गत मंसिरको चुनाबमा बाराबाट निर्वाचित भएका थिए। राष्ट्रपतिमा रामचन्द्र पौडेललाई तनहुँबाट र उपराष्ट्रपतिमा रामसहायप्रसाद यादवलाई बाराबाट निर्वाचित गराउन पाएकोमा उनले आफूलाई भाग्यमानी भएको स्मरण गरे।
चुनावी सभामा नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले गठबन्धनका उम्मेदवार भट्टराईलाई विजयी गरी संविधान, लोकतन्त्र र परिवर्तनको रक्षा गर्दै देश र जनताको समृद्धिमा लाग्न आम मतदातासँग आग्रह गरे।