नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले मधेस प्रदेसमा कांग्रेस नेतृत्वको सरकार बन्नुपर्ने बताएका छन्। नेविसंघको स्थापना दिवसको अवसरमा जनकपुरधाममा आयोजित कार्यक्रममा बोल्दै नेता निधिले यस्तो बताएका हुन्।
कांग्रेसको उर्वरभूमि मधेस प्रदेस रहेको भन्दै उनले अहिले र पाँच वर्षपछि पनि आफ्नो पार्टीको नेतृत्वका सरकार बनाउने गरी तयारीमा जुट्न नेता कार्यकर्तालाई आग्रह गरे।
‘नेपाली कांग्रेस एक्लै, विना गठबन्धनको कसरी जित्छ त्यसको तयारीमा अहिलेदेखि लागि हालौं, म यस काममा लागि सकेको छु। तपाईंहरू पनि लागि हाल्नुस्,’ निधिले भने।
उनले अहिलेको गठबन्धन भने पाँच वर्षसम्म कायमै रहने प्रष्ट पारे।
‘अहिलेको गठबन्धनलाई गडबडपार्ने कुनै कुरा छैन, पाँच वर्षसम्म यही गठबन्धन रहन्छ,’ निधिले थपे,‘तर, पाँच वर्षपछि हुने निर्वाचनमा नेपाली कांग्रेस मधेस प्रदेसमा, देशमा एक्लै बहुमत कसरी ल्याउँछ त्यसका लागि अहिलेदेखि तयारीमा जुटौं।’
मधेस प्रदेसमा अब नेपाली कांग्रेस नेतृत्वको सरकार बनोस् भन्ने आफ्नो चाहना रहेको उनले बताए।
नेता निधिले १० वैशाखमा हुने लागेको उपनिर्वाचनमा कांग्रेस र गठबन्धनका उम्मेदवारलाई निर्वाचित गराउन नेविसंघलाई परिचालित हुन आग्रह गरे।