प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले पार्टीका कार्यकर्ताको रुपान्तरणको सवाल मुलुकसँग गाँसिएको बताएका छन् ।
महोत्तरीको गौशालामा आज आयोजित पार्टीको तीनमहिने रुपान्तरण अभियानको मधेस प्रदेशस्तरीय समीक्षा बैठक र प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्रीले पार्टीका नेता कार्यकर्ता रुपान्तरित भएमात्र सङ्घीय लोकतान्त्रिक गणतन्त्र सबल हुने बताए । नेता तथा कार्यकर्तालाई प्रेरित गर्दै दाहालले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको बिगुल नेकपा माओवादीले फुकेको बताए ।
स्वार्थभन्दा माथि उठेर काम गर्न निर्देशन दिँदै दहालले गलत बाटोमा लागेको भए तत्काल सच्चिन पनि आग्रह गरे । अभियानका क्रममा जनसरोकारका मुद्दा पार्टीका नेता कार्यकर्ताले उठाउन र उजागर गर्न उनले अपिल छ । अभियानमा जोडिएका सबै नेता कार्यकर्ताको मूल्याङ्कन पार्टी नेतृत्वले गरीरहेको पनि बताए ।
मधेस प्रदेश प्रमुख लिलामणि पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेस प्रदेशका सबै केन्द्रीय सदस्य, प्रदेश समितिका पदाधिकारी तथा सदस्य, रुपान्तरण अभियानका जिल्ला संयोजक र सम्बद्ध सदस्यलगायत सहभागी थिए ।