प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन कुनैपनि बेला फुट्न सक्ने बताएका छन्। गठबन्धनलाई खरानीको डल्लोको रुपमा चित्रण गर्दै उनले ’त्यो सुक्यो भने पनि फुट्ने र भिज्यो भने पनि फुट्नसक्ने’ टिप्पणी गरे। बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष ओलीले आफूहरुले दिएको सुझाव नसुनेर सरकारले दम्भ देखाइरहेको आरोप समेत लगाए।
अध्यक्ष ओलीले सत्तारुढ प्रमुख घटक कांग्रेस प्रतिगामी सोचका साथ अघि बढिरहेको आरोप लगाए ।’ उनले कांग्रेस महासमिति बैठकले संविधान संशोधनको कुरा गरेपनि सम्भव नभएको बताए। ’कांग्रेसले महासमिति बैठकबाट संविधान संशोधन गर्ने भनेछ । तर अहिले कांग्रेस एक्लैले संविधान संशोधन गर्न सक्ने अवस्था छैन,’ उनले भने, ’कांग्रेस प्रतिगामी ढंगले अघि बढिरहेको छ।’
उनले सरकारले एमालेले दिएको सुझाव र खबरदारीलाई समेत बेवास्ता गरेको आरोप लगाए। ‘नेकपा एमालेसँग मेजरिटी छैन। हामी सरकारभन्दा बाहिर छौं। प्रतिपक्षमा छौं। त्यसकारण हामीले सुझाव दिने हो। त्यो सुझाव त अब गठबन्धनको दम्भले सुनिराखेको छैन,’ ओलीले भने, ’गठबन्धन भनेर धेरै दम्भ नदेखाए हुन्छ। यो गठबन्धन ५ वर्षसम्म जान्छ कि जाँदैन? म भन्न सक्दिन। किनभने यो खरानीको डल्लो हो । यो सुक्यो भने पनि फुट्छ, भिज्यो भने पनि फुट्छ।’