मकवानपुरको हेटौँडालाई अस्थायी रुपमा राजधानी तोकेको अघिल्लो सरकारको निर्णयलाई अनुमोदन गर्ने वा नयाँ राजधानी खोज्ने भन्ने बिषयले ३ नं प्रदेशको संसदमा प्रवेश पाएको छ ।
हेटौँडास्थित संसद सचिवालयमा असोज २२ गते सोमबार बस्ने बैठकमा यो बिषयले प्रवेश पाउने भएसँगै यतिखेर प्रदेश राजधानी हेटौँडामा उत्सुकता बढेको छ ।
यसअघि संसदमा गठित राजधानीका बिषयलाई टुंगोमा पुर्याउनका लागि राजधानी सम्भाब्यता अध्ययन बिशेष समिति गठन गरी संसदले राजधानीको बिषयमा चासो ब्यक्त गरेको थियो । उक्त समितिले गएको असार २६ गते नै प्रदेश राजधानीका बारेमा सुझाव पेस गरेपनि छलफल हुन सकेको थिएन । तर, सोमबारको बैठकमा राजधानीको बिषयले प्रवेश पाउने गरी कार्य व्यवस्था तथा परामर्श समितिको बैठकले संसदमा छलफलमा पठाउने तयारी गरेको आन्तरिक तथा कानून मन्त्री शालिकराम जम्मकटेलले बताए ।
समितिले मकवानपुर, भक्तपुर, चितवन र काभ्रे र नुवाकोटमध्ये एक जिल्लामा राजधानी तोक्नका लागि सुझाव दिएको थियो ।
तत्कालीन सरकारले हेटौँडालाई अस्थायी राजधानी तोकी सातैवटा मन्त्रालयहरु स्थापना भइसकेको छ । यहाँ रहेका ठूला सरकारी भवनहरुमा मन्त्रालयहरु, आवास भवनहरु तथा अन्य संवैधानिक अंगहरु स्थापना गरिएका छन् ।
यसर्थ पनि हेटौँडालाई राजधानी बनाइनुपर्छ भन्ने धारणा मकवानपुरबासीको रहेको छ भने संघीय राजधानी छेउछाउमा प्रदेश राजधानी राख्दा अरु धेरै काम गर्न सजिलो पर्ने धारणा मकवानपुरबाहेकका सांसद तथा मन्त्रीहरुको रहँदै आएको छ । यद्यपि प्रदेश राजधानीको बिषय संघीय सरकारको नेतृत्वकर्ता नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालको धारणामा भर पर्ने बताइएको छ । ३ नं प्रदेशमा कम्युनिष्ट पार्टीको दुई तिहाई उपस्थिति छ । तत्कालीन एमालेको मात्रै पनि बहुमत रहेको थियो ।