प्रदेश न ५ का मुख्य मन्त्री शंकर पोखरेलले संघीय सरकारको ढुलमुले प्रवृतिका कारण प्रदेश र स्थानीय तहले कामै गर्न नपाएको बताएका छन् । उनले संघीय सरकार र केन्द्रिय प्रशासन दिगो विकास मैत्री हुन नसकेको बताए ।
योजना आयोगले बुटवलमा गरेको दिगो विकास लक्ष्यमैत्री योजना, अनुगमन मुल्याङ्कन तथा तथ्याङ्क सम्बन्धि प्रदेश स्तरीय कार्यक्रममा मुख्य मन्त्री पोखरेलले केन्द्रिय सरकारका काम कारबाही प्रति असन्तुष्टि जनाउदै नीतिगत र कार्यगत योजना तर्जुमामै त्रुटी रहेको औल्याए ।
नीतिगत र कार्यगत योजना दुवै माथिबाट तल सम्म जाने हालको परिपार्टीले स्थानीय आवश्यकताहरुको पहिचना हुन नसक्ने भन्दै उनले कार्यगत योजना तर्जुमा तल्लो तहबाट माथि सम्म जाने परिपार्टीको विकास हुनु पर्नेमा जोड दिए ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले पनि स्थानीय तह र प्रदेश बलियो नबनाए सम्म दिगो विकासको लक्ष्य प्राप्त हुन नसक्ने बताए ।
तीन तहका सरकार बिचमा अलमल देखिएको भन्दै उनले तीनै तहमा संघन सहकार्यको आवश्यकता औल्याए । प्रकृयागत भन्दा परिणाम मुखी कार्ययोजना बनाउनु पर्नेमा उनको जोड थियो ।