प्रदेश २ मा महिला हिंसा तथा अपराध न्यूनीकरणका लागि ‘हेल्लो सिएम’ एप सार्वजनिक गरिएकाे छ।
बढ्दै गएको महिला हिंसा तथा अपराध सम्बन्धी घटनालाई न्युनिकरण गर्न प्रदेश सरकारले हेल्लो सिएम एप सार्वजनिक गरेको हो।
प्रदेश प्रहरी कार्यालयले आइतवार जनकपुरमा आयोजना गरेको समुदाय–प्रहरी साझेदारी कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले हेल्लो सिएम एप उद्घाटन गरेका हुन्।
महिला हिंसा तथा अपराधिक घटनाहरुलाई नियन्त्रण गर्न आजको युगमा प्राविधिको प्रयोग अपरिहार्य भइसकेको बताउँदै मुख्यमन्त्री राउतले हेल्लो सिएम एपले हिंसा न्युनिकरणमा प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।
उनले एपको बारेमा ग्रामीण स्तरसम्म जानकारी गराउने गरी सचेतनामुलक कार्यक्रम संचालन गरिने जानकारी गराए। हेल्लो सिएम एपको मदतले हिंसा वा आपत परेको बेला आफु नजिकको प्रहरी कार्यालयमा तुरन्त सम्पर्क गर्न सक्ने र प्रहरीले लोकेसन ट्रयाक गरेर पीडितसमक्ष तुरन्त पुग्न सक्ने बताइएको छ।
एप एन्ड्रोइड मोवाइलमा डाउनलोड गरिसकेपछि एपलाई अन गरेर आफ्नो मोबाइल तीन पटक हलाए मात्रै नजिकको प्रहरी काहाँ इमरजेन्सी कल बनेर पुग्ने र त्यसमा पीडितको लोकेशन समेत जाने व्यवस्था रहेको एपका निर्माता ई.आदित्य राज यादवले जानकारी दिए।
मुख्यमन्त्री राउतले प्रहरीले मात्र समुदायमा शान्ति सुरक्षा कायम गर्न नसक्ने भन्दै आमजनता र प्रहरीबीच सहकार्य गरि अघि बढ्नुपर्नेमा जोड दिए। उनले प्रदेश सरकार प्रहरीसँग सहकार्य गरेर अगाडी बढ्न तयार रहेको बताउँदै अपराधीहरु पनि समाजमै बस्ने गरेकाले अपराधीलाई समात्न समुदायकै व्यक्तिहरुले प्रहरीसँग सहकार्य गर्नुुपर्ने बताए।
फरक प्रसङ्गमा बोल्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारले प्रहरी ऐन ल्याएपछि केन्द्र सरकारले प्रदेशसमा रहेका प्रहरीलाई जिम्मा लगाउन तयार भएको बताए। उनले भने,‘केन्द्र सरकारले प्रहरी निर्देशिका संसदमा लगिसकेको छ। अब प्रदेशमा रहेका प्रहरी प्रदेश सरकारलाई जिम्मा लगाउन संघीय सरकार तयार भएको छ। धन्यवाद छ केन्द्र सरकारलाई।’