संघीय राजधानी काठमाडौँ र ३ नं प्रदेश राजधानी हेटौँडा जोड्ने छोटो दूरीका दुईवटा सडक खण्डमा साना सबारी साधनहरु जोर–बिजोरका आधारमा आवत जावत हुने व्यवस्था मिलाइने भएको छ ।
हेटौडाबाट सिस्नेरी हुँदै काठमाडौँ पुग्ने र हेटौँडाबाट फाखेल हुँदै काठमाडौँ पुग्ने रुटमा मुख्यमन्त्री डोरमणि पौडेलकै निर्देशन बमोजिम जोर बिजोर प्रणालीमा सवारी व्यवस्थापन गर्ने तयारी भएको हो ।
जस अनुसार हेटौँडाबाट फाखेल हुँदै काठमाडौँ पुग्ने टाटा सुमोहरु जोर बारका दिन जोर नम्बरका मात्र सञ्चालन हुनेछन् । त्यसैगरी हेटौँडा सिस्नेरी हुँदै काठमाडौँ पुग्ने सुमोहरु बिजोरका बारका दिन बिजोरमात्र चल्नेछन् ।
मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भएको सरोकारवालाहरुसंगको छलफलमा मुख्यमन्त्रीको निर्देशनपछि छोटो दुरीका बाटाहरमा सबारी व्यवस्थापनको उपाय खोजी गरिएको हो । जोर बिजोर प्रणालीको व्यवस्थापनका लागि जिल्ला ट्राफिक कार्यालयसहित सरोकारवाला निकायले जनशक्ति परिचालन गर्ने सहमति भएको छ ।
यसैबीच मुख्यमन्त्री पौडेलले कुनै पनि बहानामा बाटा बन्द गर्नेहरुलाई छुट नहुने बताएका उनले सरोकारवालाको बैठकमा यो वा त्यो नाउँमा बाटो बन्द गर्नेहरु कानूनी दायरामा आउनुपर्नेमा जोड दिए ।
त्यसैगरी सडकका ठेक्काहरु प्रदेश सरकारमा हस्तान्तरण नभएको अबस्थामा डिभिजन सडक कार्यालय काठमाडौँ र र मकवानपुरले निर्माण कार्यको जिम्मेवारी लिएका निर्माण व्यवसायीलाई ३ दिनभित्र सम्पर्कमा ल्याएर बाटाहरु आवश्यक मर्मत गर्न लगाउन पत्राचार गर्ने निर्णय समेत भएको छ ।
छलफलमा प्रमुख सचिव आनन्दराज ढकाल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, ईन्द्रसरोबर गाउ“पालिका अध्यक्ष जिबन लामा, मन्त्रालयका सचिबहरु रमेश शिवाकोटी, रुद्रा शर्मा, यातायात व्यवसायीहरु, डिभिजन सडक कार्यालयका इन्जिनियरहरु लगायत सहभागी थिए ।