नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार पूर्वराजा ज्ञानेन्द्र शाहको पथमा हिडेको आरोप लगाएका छन्।
उनले ज्ञानेद्र शाहको पथमा हिडेकाले ओली नेतृत्वका सरकार पाँच वर्ष नटिक्ने दाबी गरेका हुन्। दुई तिहाई बहुमतको आडमा सरकारले संविधान विरोधी गतिविधि अगाडि बढाएको भन्दै खाँणले जनता अहिले पूर्वराजा ज्ञानेन्द्रको शासन अनुभूति गरिरहेको बताए।
‘बिना उद्देश्यको दुईतिहाईको ओली सरकारले लोकतन्त्रविरोधी गतिविधि गर्दै अगाडि बढाएको छ। यो सरकार पाँच वर्षसम्म टिक्न सक्दैन,’ बुधवार जनकपुरमा आयोजित पत्रकार भेटघाटमा खाँणले भने,‘कम्युनिष्टहरुको सर्वसत्तावादी र केन्द्रीकृत सोचका कारण संघीयता नै धरापमा पर्ने खतरा बढेको छ।’
नेपालको विविधतालाई सम्बोधन लोकतन्त्रले मात्र गर्न सक्ने भएपनि अहिलेको कम्युनिष्ट सरकार विगतको पुरानो पञ्चायती शैलीमा अघि बढिरहेको खाँणले आरोप लगाए। दुईतिहाईको वर्तमान सरकारलाई कांग्रेसले पटक–पटक आग्रह गरेपनि संविधान संशोधनका लागि कुनै पहल नगरेको उनको भनाइ थियो।
खाँणले अत्याधिक कर वृद्धिका कारण जनताको क्रयशक्तिमा ह्रास भएको भन्दै संघीयताप्रति वितृष्णा फैलाउन सरकारले यस्तो नीति अपनाएको आरोप लगाए। लोकतान्त्रिक शक्तिले मात्र संघीयतालाई अघि बढाउन सक्ने दाबी गर्दै उनले कम्युनिष्टहरुको विचारधारा नै संघीयता विरोधी रहेको जिकिर गरे। प्रदेश सरकारलाई केन्द्र सरकारले कुनै अधिकार र अख्तियारी नदिएकाले संघीयता कार्यान्वयन संकटमा परेको उनको भनाइ थियो।
कम्युनिष्टहरु आगामी १० वर्षभित्र संसारबाट नै समाप्त भएर जाने दाबी खाँणको छ। उनले कांग्रेस कमजोर भए राष्ट्रियता र लोकतन्त्र कमजोर हुने बताए। उनले कांग्रेसले छठपछि सरकारविरुद्ध रचनात्मक र संघर्षका कार्यक्रम सञ्चालन गर्ने जानकारी पनि दिए।