मकवानपुरको मनहरी गाउँपालिका ८ सिमपानीस्थित पिसपार्कमा फिलिपिन्सकी राजकुमारी मारिया लियोन टोरिसर्सको स्वागत गरिएको छ ।
मनहरी बजारबाट पिसपार्कसम्म पन्चेबाजासहित झाँकी र र्याली आयोजना गरी उनलाई स्वागत गरिएको हो ।
पिसपार्कमा आयोजित समारोहमा बोल्दै मारियाले नेपालप्रति आफ्नो अगाध माया रहेको सुनाइन् । उनले नेपालको सुन्दरता विश्वमै चर्चामा रहेकाले नेपाल आउन धेरै मानिसहरुले चाहना गर्ने गरेको बताइन् । नेपाल आउन पाएको र यहाँका मानिसहरुसँग हेलमेल गर्न पाएकोमा आफू खुसी भएको भन्दै उनले यहाँका मानिसहरुले गर्ने हरेक खालका कामहरुमा आफ्नोतर्फबाट सहयोग हुने बताइन् ।
कार्यक्रममा बोल्दै थाइल्याण्डकी शान्ति दूत अपिनिता चाइचनले आफूले नेपालमा आमा, बुवा, दाजुभाई र दिदीबहिनी पाएको भन्दै खुसी व्यक्त गरिन् । त्यसैगरी ३ नं प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले मनहरीमा निर्माण भएको पिस पार्क हेर्ने अबसर पाएकामा खुसी व्यक्त गर्दै मनहरीबासीले गरेका राम्रो कामप्रति धन्यवाद दिए ।
प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँले आफूले यस क्षेत्रको समाजसेवामा लगानी गरेको दाबी गर्दै पिसपार्क निर्माण कार्यलाई आर्थिक अभावले रोक्न नहुने भन्दै आवश्यक पर्दा आफूले समेत रकम सहयोग गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा सांसदहरु मुनु सिग्देल, ओमबहादुर घलान प्रदीप लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
समारोह सुरु हुनअघि राजकुमारी मारियाबाट पिसपार्कभित्र निर्माण भएका बुद्धको मुर्ति, ध्यान केन्द्र, गोलघरहरुको रिबन काटेर उद्घाटन गरेका थिए । सोही क्रममा मनहरी ८ स्थित टासी छोइलिङ गुम्बाको समेत मारियाले अबलोकन गरेकी थिइन् ।
मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीको सभाध्यक्षतामा भएको कार्यक्रममा पिसपार्क निर्माणका लागि सहयोग गर्ने समाजसेवीहरु, दाताहरु, युवा, विद्यार्थी तथा ब्रह्मकुमारी राजयोग सेवा केन्द्रमा समर्पित ज्येष्ठ नागरिकहरुको बाक्लो उपस्थिति रहेको थियो ।