स्थानीय संगिता मेस्तर भकानिदै भन्छिन, ‘मेरो पेटमा बच्चा छ । जाडो महिना छ, बस्नलाई घर छैन । कहाँ जाऊ म ?’ ५ जनाको परिवार रहेको संगिताकी श्रीमान बेरोजगार छन्, घरमै बस्छन् । गर्भवती अवस्थामा पनि संगिता जेनतेन सरसफाइको काम गरेर गुजारा चलाउँदै छिन् ।
सुवि मेस्तरनी ३ वटा छोराछोरी लिएर सडकको पेटीमा बसीरहेकी छिन् । चार दिनअघि नै उनको घर भत्काइएको थियो । उनी भन्छिन्, ‘हामी खुल्ला आकाशमै बस्न बाध्य भएका छौँ । यतिका चिसोमा बच्चालाई लिएर कहाँ जाउ, हामी ? घर मालिकहरुले दलित भनेर भाडा पनि दिन तयार छैनन् ।’
रेलसेवा विस्तारको क्रममा रलवे लिकको छेउछाउमा भएका घरहरु विना सूचना नै भत्काउन लागेपछि विचल्लीमा परेका छन्, जनकपुरका दलित समुदाय । चार दिन पहिले सूचना नै नदिइ जनकपुर उपमहानगरपालिका वडा नं. १ मा दलित समुदायको बस्तीमा डोजर चलेपछि उनीहरु विचल्लीमा परेका हुन् ।
आर्थिक तथा समाजिक हिसाबले अत्यन्तै पिछडिएका १० जना मेस्तर समुदायका घर टहरा भत्किएपछि उनीहरु खुल्ला आकाशमै बस्न बाध्य भएका छन् । करिब ३० वर्षदेखि ती दलित समुदायहरु एलानी जग्गामा घर टहरा बनाएर बस्दै आएका थिए ।
‘दलितलाई समृद्ध बनाउन तथा उत्थानकालागि भोट माग्न आउनेहरु पनि अहिलेसम्म आफुहरुकालागि कुनै पहल नगरेको परमेश्वर मेस्तरले गुनासो पोखे । घर भत्काउनु अघि कुनै सूचना नै नदिई घर भत्काइएको भन्दै स्थानीहरु आक्रोसित भएका छन् । अहिले १० वटा घर मात्र भत्काइएपनि रेल्वे लाइनका छेउछाउमा रहेका दलित समुदायका करिब ५० वटा घर भत्काउने चेतावनी दिइएको स्थानीहरुले बताए ।
जनकपुरधाम उपमहानगरपालिकाकी कार्यपालिका सदस्य समेत रहेकी सुनिता राउत (मेस्तरनी) ले भनिन ‘दलितको नाउँमा भजाएर खाने धेरै छन् तर दलितको उत्थान गर्ने कोही छैनन ।
दलित समुदायलाई भोट ब्याङकको रुपमा मात्र प्रयोग गर्ने गरेको भन्दै आक्रोश व्यक्त गर्दै उनले भनिन, ‘घरबाट बेघर हुँदा दलितकालागि सोंच्ने कोही छैनन, चुनावमा भोट माग्ने बेला मात्र नेताहरुलाई दलित याद आउँछ ।’
उनले जग्गा नरहेका नागरिकलाई मुलुकमा बस्ने अधिकार छ, कि छैन भनेर प्रश्न समेत गरिन । उनले भत्काइएको घर अर्को ठाउँमा निर्माण गरी दलित समुदायको व्यवस्थापन गर्न सम्बन्धित निकायसँग माग गरिन ।