३ नं प्रदेशको संसद बैठक आगामी मंसिर १० गते बस्ने भएको छ । दशैँअघि स्थगन भएको बैठक मंसीर १० गतेका लागि तय गरिएको सभामुख सानुकुमार श्रेष्ठले स्पेसखबरलाई जानकारी दिए ।
‘केही बिधेयकहरु पारित गर्नेगरी बैठकको तय भएको छ’, सभामुख श्रेष्ठले भने–‘संसद कामबिहिन छैन, धमाधम काम गरिरहेको छ ।’ सभामुख श्रेष्ठका अनुसार १० गते बस्ने बैठकले प्रदेश सञ्चार माध्यम विकास तथा व्यवस्था गर्न बनेको बिधेयक, प्रदेश सबारी र यातायात व्यवस्था गर्न बनेको बिधेयक, प्रदेश प्राविधिक शिक्ष सञ्चालन र व्यवस्थापन गर्न बनेको बिधेयक पेस हुनेछ ।
त्यसैगरी प्रदेश खेलकुद विकास तथा व्यवस्था गर्न बनेको बिधेयक, प्रदेश कार्यसम्पादनका लागि कोष व्यस्थापन गर्न बनेको बिधेयक र प्रदेश संस्था दर्ता गर्न बनेको बिधेयक प्रस्तुत हुने संसद सचिवालयले जनाएको छ ।
यसअघि प्रदेश राजधानीको बिषय टुंगो लाग्ने बताइएपनि मंसीर १० गते बस्ने बैठकले प्रदेश राजधानीबारे छलफल नहुने बताइएको छ । यसका लागि राजनीतिक सहमतिपछि मात्रै बैठकमा राजधानी र नामको बिषयले प्रबेश पाउने स्रोतले बताएको छ ।