सामाजिक क्षेत्रमा अग्रसर रहेर विभिन्न उपाधिबाट विभूषित ‘फिलिपिनो राजकुमारी’ डा मारिया अमोरले पोखराको सुन्दरताको खुलेर प्रशंसा गरेकी छिन् ।
पहिलो पल्ट पोखरा पुगेकी राजकुमारीले हिमालका दृश्य र तालले आफूलाई निकै लोभ्याएको बताइन् । उनी थाइल्याण्डका शान्तिदूत अपिनिता चाइचानसँग नेपाल अाएकी हुन् । चाइचान पश्चिम मकवानपुरको मनहरी गाउँपालिका– ८ सिमपानीमा बन्दै गरेको आमाघर (मदर प्रोजेक्ट) का कार्यकारी अधिकृत हुन् ।
सोही अवसरमा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय पोखराको विशेष निमन्त्रणमा पोखरा पुगेका डा अमोरले विश्वका विभिन्न देश घुमेको अनुभव सुनाउँदै पोखराको सौन्दर्यको वर्णन गरे। “एशियाको स्वीट्जरल्याण्ड भनेर चिनिने पोखरा अवर्णित शहर रहेछ । यहाँको वातावरण नै रमणीय लाग्यो । प्राकृतिक दृश्य पनि उस्तै लोभलाग्दो, मान्छे झनै सुन्दर”, उहाँले पोखरा आउनुअघि नै पोखराको सुन्दरताको निकै चर्चा सुनेको र यो ठाउँमा आउन तीव्र इच्छा रहेको बताए ।
उनले अल्ट्रालाइटबाट माउण्टेनको दृश्य अवलोकन गर्ने रहर छ भन्दै मौसम कति बेला खुल्छ भनेर कुरिरहेको बताए । पोखराको केआइ सिंह पुल पुगेर हिमालबाट बगेको पानीलाई शरीरमा छर्कँदै नजिकै रहेको शिव मन्दिरमा पूजारीको हातबाट उनले टीकासमेत लगाइन् ।
उनीहरुले पोखराको आसपास र फेवातालमा डुङ्गा चढेर बाराहीको दर्शन गरे । हरेक धर्मले एकार्काबीच सम्बन्ध स्थापना गरेर मानवीय सेवामा लाग्न प्रेरणा दिन्छ भन्दै धर्मका नाममा मानव मानवबीच भइरहेका द्वन्द्व धर्मविरोधी भएको प्रतिक्रिया दिए । रासस